logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बाँसको डोकोमा बुनेको जीवन: थुन्से र ढाकर बेचेर परिवार चलाउने शेरबहादुर

    • nayapana nayapana
    • ३१ श्रावण २०८२ शुक्रबार
    बाँसको डोकोमा बुनेको जीवन: थुन्से र ढाकर बेचेर परिवार चलाउने शेरबहादुर

    बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारका हातले बुनेका डोका, डाला, थुन्से र ढाकरले आज उनी मात्र होइन, उनको पाँच सदस्यीय परिवारको जीवन पनि धानिरहेको छ। बाँस र निगालोको चोया काडेर सुन्दर र मजबुत सामग्री बनाउने सीप उनीसँग उन्नाइस वर्षको उमेरदेखि छ, र यो सीप नै उनको आय–आर्जनको मुख्य आधार बनेको छ।

    “अझै जवान छु जस्तो लाग्छ तर ५० वर्षको हुन लागेछु,” पसिनाले भिजेको अनुहारमा मुस्कान ल्याउँदै उनी भन्छन्। उनी दैनिक पाँचवटासम्म डोका बुन्छन्, जसको मूल्य प्रतिडोको रु २५० देखि ३५० सम्म पर्छ। यसरी महिनामा करिब रु १२ हजार कमाउँदै आएका परियारले यही आम्दानीबाट छोराछोरीलाई पढाए, विवाह गराए र घरको भरणपोषण गर्दै आएका छन्।

    पहिले बजारसम्म पुगेर सामान बेच्नुपर्ने परियारलाई अहिले भने ग्राहक घरमै आउँछन्। गर्वका साथ उनी भन्छन्, “पहिले साँझ बिहान हातमुख जोर्नै मुस्किल हुन्थ्यो, अब त्यस्तो अवस्था छैन।” विपन्न पृष्ठभूमिबाट आएका परियारको सीप र मेहनतले बाँसको डोको मात्र होइन, आत्मनिर्भर जीवनको कथा पनि बुनेको छ।



    nayapana nayapana    
  • ३१ श्रावण २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP