logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    आफ्नै टाउकामा आगो नलगाए जनताले झोस्छन् : महेश्वर दाहाल

    • nayapana nayapana
    • १७ पुष २०८२ बिहीबार
    आफ्नै टाउकामा आगो नलगाए जनताले झोस्छन् : महेश्वर दाहाल

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेश्वर दाहालले पार्टीभित्र मौलाउँदै गएको भ्रष्टाचार र अनैतिक व्यवहारले जनयुद्ध, त्याग र बलिदानलाई उपहासको विषय बनाएको कडा टिप्पणी गरेका छन्। पार्टीको कार्यशैलीमा तत्काल सुधार नगरे पार्टी नै गम्भीर संकटमा पर्ने उनको चेतावनी छ।

    पार्टी केन्द्रमा प्रस्ताव पेश गर्दै दाहालले नेकपाभित्र करिब १०–१५ प्रतिशत गलत प्रवृत्तिका नेता तथा कार्यकर्ताका कारण समग्र आन्दोलन बदनाम भइरहेको उल्लेख गरे। “थोरै व्यक्तिको लोभ, भ्रष्टाचार र व्यभिचारले लाखौँ जनताको त्याग र रगतको अवमूल्यन भइरहेको छ,” उनले भने।

    जनताको विश्वास पुनःस्थापित नगरी परिवर्तनको एजेन्डा अघि बढ्न नसक्ने उल्लेख गर्दै दाहालले सबैभन्दा पहिला पार्टीले आफ्नै अनुहार ऐनामा हेर्नुपर्ने बताए। “हामी आफैँले आफ्ना कमजोरीमा आगो लगाउन सकेनौँ भने, जनताले हामीलाई खरानी बनाइदिनेछन्,” उनको चेतावनीपूर्ण भनाइ छ।

    उनले पार्टीको नाम र प्रभाव प्रयोग गरी अपारदर्शी रूपमा आर्जन गरिएको सम्पत्ति पार्टीकरण गर्नुपर्ने माग अघि सारे। जनयुद्धका क्रममा पीडित भएका परिवारको पालनपोषण र संरक्षणमा त्यस्ता सम्पत्ति प्रयोग गर्नुपर्ने र अकुत देखिएमा राज्यकरण गर्नुपर्ने उनको प्रस्ताव छ।

    आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा दाहालले पार्टीले स्पष्ट, साहसी र नैतिक प्रतिबद्धता सार्वजनिक गर्नुपर्ने बताए। उनका अनुसार चुनाव जनताको विश्वास र सेवाका लागि लडिनुपर्छ, न कि विवादास्पद व्यापारी, ठेकेदार वा स्वार्थ समूहको पैसाका लागि।

    “यो चुनाव कालोधन, बिचौलिया र गुप्त सम्झौताबाट होइन, इमानदार नागरिकहरूको स–सानो योगदानबाट सञ्चालन हुन्छ भन्ने स्पष्ट घोषणा गर्नुपर्छ,” उनले भने।

    निर्वाचन खर्च पारदर्शी बनाउन छुट्टै बैंक खाता खोल्ने, स्वदेश–विदेशमा रहेका नेपालीबाट औपचारिक बैंकिङ प्रणालीमार्फत मात्र सहयोग लिने र कुनै पनि विवादास्पद स्रोतको पैसा अस्वीकार गर्ने नीति अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए।

    पैसाको शक्तिलाई होइन, जनविश्वासको शक्तिलाई जित्ने राजनीति निर्माण गर्नुपर्ने उल्लेख गर्दै दाहालले इमानदार राजनीतिका पक्षमा जहाँ रहे पनि उभिन सबैलाई आह्वान गरेका छन्।



    nayapana nayapana    
  • १७ पुष २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP