आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले ताप्लेजुङबाट खेलप्रसाद बुढाक्षेत्री ‘पराग’लाई उम्मेद्वार बनाएको छ।
शनिबार पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक रूपमा टिकट हस्तान्तरण गरेसँगै परागको उम्मेद्वारी निश्चित भएको हो। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा पार्टीले परागलाई उम्मेद्वारका रूपमा अघि सारेको हो।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका पराग जिल्लाबाट एकल सिफारिसमा परेका थिए। उनी २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन कांग्रेस–माओवादी गठबन्धनका साझा उम्मेद्वारका रूपमा प्रतिस्पर्धामा उत्रिएका थिए। उक्त निर्वाचनमा उनी एमाले उपमहासचिव योगेश भट्टराईसँग मात्र २०८ मतको झिनो अन्तरले पराजित भएका थिए।
यस पटक भने नेकपा एकीकृत समाजवादीसहितका गठबन्धनका घटक शक्तिहरू एक ठाउँमा रहेकाले परागलाई ती दलहरूको समर्थन प्राप्त हुने देखिएको छ। गठबन्धनको साथ र अघिल्लो निर्वाचनको अनुभवले आफूलाई थप सशक्त बनाएको परागको भनाइ छ।
उम्मेद्वारका लागि सिफारिस भएदेखि नै परागले निर्वाचन लक्षित गतिविधिलाई तीव्र बनाउँदै आएका छन्। उनले आगामी निर्वाचनमा ताप्लेजुङका जनताले आफूलाई विजयी गराउनेमा पूर्ण विश्वास व्यक्त गरेका छन्। जिल्लामा बसेर निरन्तर रूपमा जनताको पक्षमा काम गर्दै आएको उल्लेख गर्दै यस पटक अत्यधिक मतान्तरसहित जित हासिल गर्ने दाबीसमेत परागले गरेका छन्।

प्रतिक्रिया