नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन उपत्यकामा पछिल्लो समय घोडा सफारी व्यवसाय तीव्र रुपमा फस्टाउँदै गएको छ। पर्यटक आगमनसँगै स्थानीयको घोडापालन व्यवसाय आम्दानीको प्रमुख माध्यम बन्दै गएको छ।
ढोरपाटन नगरपालिका–९ का अनिस विक घोडा पाल्दै आएका स्थानीयमध्ये एक हुन्। उनी हाल पर्यटकलाई घोडामा सयर गराउँदै दिनमै तीन हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन्। “पहिले मुस्किलले दिनमा हजार रुपैयाँ कमाइन्थ्यो, अहिले भने फूल फुलेको मौसममा दैनिक तीन हजार रुपैयाँसम्म आम्दानी भइरहेको छ,” उनले भने।
विकका अनुसार पर्यटक ढोरपाटन पुगेपछि घोडा नचढी फर्कने सम्भावना अत्यन्त न्यून हुन्छ। “पर्यटकलाई घोडा चढाएर फोटो खिचिदिन्छु, टिकटक बनाइदिन्छु, खुसी भए टिप्स पनि दिन्छन्,” उनले मुस्कुराउँदै सुनाए। सामान्य फोटो तथा भिडियो खिचाइको शुल्क दुई सय रुपैयाँ लिइने गरिएको छ भने ढोर बराही मन्दिरसम्मको घोडा यात्रा पाँच सय र बुकी पाटनसम्म पुर्याउने शुल्क तीन हजार रुपैयाँसम्म पर्न जाने गरेको उनले बताए।
असारदेखि भदौसम्म ढोरपाटन उपत्यकामा फुल्ने विविध प्रजातिका वनफूल विशेषगरी ‘बुकी’ फूल हेर्नकै लागि बुटवल, काठमाडौं, पोखरा, बागलुङ लगायतका स्थानबाट पर्यटकको ओहोरदोहोर बाक्लिंदै गएको छ। पर्यटक घोडा चढेर फूलहरूले ढाकिएको पाटन पुगेर फोटो खिच्न, भिडियो बनाउने तथा सामाजिक सञ्जालमा साझा गर्न निकै रुचि देखाउने गरेका छन्।
ढोरपाटनका अर्का घोडा व्यवसायी मैतराम विकले पर्यटकको चापसँगै घोडा व्यवसायबाट हुने आम्दानी सन्तोषजनक रहेको बताए। उनका अनुसार, “हिउँ पर्ने तीन महिना घोडा घरमै राखेर दाना खुवाउनु पर्छ, जुन चुनौतीपूर्ण हुन्छ। तर, बाँकी समय पर्यटकलाई बुकी पाटन पुर्याएर प्रतिघोडा तीन–चार हजारसम्म कमाइन्छ।”
स्थानीय घरवास सञ्चालक रामबहादुर घर्तीका अनुसार ढोरपाटनमा घोडा सफारीसँगै घरवास व्यवसाय पनि फस्टाउँदै गएको छ। “वर्खायाममै पनि पर्यटकको आगमन उल्लेखनीय छ। घरवासको माग बढ्दो छ, जसले स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको छ,” उनले बताए।
गत आर्थिक वर्षमा ढोरपाटन सिकार आरक्षमा २३ हजार पर्यटकको आगमन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब एक हजारले बढी हो। पर्यटक आगमनसँगै क्षेत्रको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ।
घोडा सफारी, घरवास सेवा तथा स्थानीय वनफूलको सौन्दर्यसहित ढोरपाटन उपत्यका द्रुत गतिमा ग्रामीण पर्यटनको आकर्षक केन्द्र बन्दै गएको छ।
प्रतिक्रिया