राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा गाडी राखेर गरिएको अवरोधको घटनाप्रति कडा असन्तुष्टि व्यक्त गर्दै राज्यको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। “यस्तो बचपना देखाएर राजकाज चल्छ?” भन्दै उनले शासन सञ्चालनमा जिम्मेवारी, परिपक्वता र विधिको शासनको आवश्यकता औंल्याएका छन्।
बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै झाले “के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको हो?” भन्ने प्रश्नसमेत गरेका छन्। उनको भनाइले लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रताविपरीत हुने कुनै पनि कार्यलाई राजनीतिक वा अन्य कुनै नाममा उचित ठहराउन नहुने सन्देश दिएको छ।
झाले सञ्चारगृह र अन्य स्थानमा गाडी राखेर आवागमन अवरुद्ध गर्नु गलत भएको स्पष्ट पार्दै यसमा संलग्न जोसुकैमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्।
उनले राज्यको मूल दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु र उनीहरूको चिन्ता सम्बोधन गर्नु भएको उल्लेख गर्दै राज्यका गतिविधिले नागरिकमा थप त्रास र असुरक्षा सिर्जना गर्नु उचित नहुने धारणा व्यक्त गरेका छन्।
“सञ्चारगृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छन्, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो, आफैं थप आतङ्कित बनाउने होइन,” उनले फेसबुकमा लेखेका छन्।
झाको अभिव्यक्तिले पछिल्लो घटनाक्रममा राज्यको भूमिका, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सार्वजनिक निकायको जवाफदेहितामाथि बहसलाई थप बल दिएको छ। यद्यपि उनले संकेत गरेको घटनाबारे सम्बन्धित निकायबाट औपचारिक धारणा सार्वजनिक भएको छैन।
प्रतिक्रिया