-अम्मर खत्री
रुकुम पूर्व । रुकुमकोटमा पहिलोपटक आयोजना गरिएको इन्डोर स्केटिङ प्रतियोगिता भव्य र सफल रूपमा सम्पन्न भएको छ। युवा पुस्ताको उल्लेख्य सहभागिता र दर्शकको उत्साहपूर्ण उपस्थितिसँगै सम्पन्न प्रतियोगिताले जिल्लामा स्केटिङ खेलको सम्भावना र भविष्यलाई उजागर गरेको छ।
प्रतियोगिताअन्तर्गत सिनियर पुरुषतर्फ निरज मल्लले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेका छन्। नबिन पुन दोस्रो र सुशील श्रेष्ठ तेस्रो स्थानमा रहन सफल भए। सिनियर महिलातर्फ जेनिशा श्रेष्ठले प्रथम स्थान हासिल गर्दा सपना श्रेष्ठ दोस्रो र वर्षा रोका तेस्रो स्थानमा रहिन्।
सिनियर विधाका विजेताले क्रमशः १० हजार, दोस्रोले ७ हजार पाँच सय र तेस्रोले ५ हजार रुपैयाँ नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
त्यसैगरी, जुनियर पुरुषतर्फ क्रिश बिक्रम प्रथम, जेनिश श्रेष्ठ दोस्रो र मिकल नेपाली तेस्रो भएका छन्। जुनियर महिलातर्फ युनिका बी.के.ले उपाधि जितेकी छन् भने आयुष्मा रोका दोस्रो र सुईसान्मी रोका तेस्रो स्थानमा रहिन्। जुनियर विधाका विजेतालाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा सम्बोधन गर्दै स्केटिङ संघका अध्यक्ष अचुत खनालले स्केटिङ खेल नेपालमा युवा पुस्तामाझ तीव्र रूपमा लोकप्रिय बन्दै गएको उल्लेख गर्दै यसको विकास, प्रवर्द्धन र व्यवसायिकरणका लागि यस्ता प्रतियोगिताहरू निरन्तर आवश्यक रहेको बताए। उनले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म नियमित प्रतियोगिता आयोजना गर्न सके नयाँ प्रतिभा पहिचान हुनुका साथै खेलकुद संस्कृतिको विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
रुकुमकोटमा सम्पन्न यस प्रतियोगिताले जिल्लामा मात्र होइन, कर्णाली–पश्चिम क्षेत्रमै स्केटिङ खेलप्रति नयाँ उत्साह र सम्भावनाको ढोका खोलेको आयोजकको भनाइ छ।
प्रतिक्रिया