logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    यशोदा फुड्सका श्रमिक आन्दोलनमा, “करेन्ट चाउचाउ बहिष्कार अभियान” सुरु

    • nayapana nayapana
    • १६ भाद्र २०८२ सोमबार
    यशोदा फुड्सका श्रमिक आन्दोलनमा, “करेन्ट चाउचाउ बहिष्कार अभियान” सुरु

    कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–६, बीरपुरस्थित यशोदा फुड्स प्रालिमा कार्यरत श्रमिकहरू श्रम ऐनअनुसारका सेवा–सुविधा नपाएको, समयमा पारिश्रमिक नपाएको र कार्यस्थलमा विभेद भएको भन्दै आन्दोलनमा उत्रिएका छन्।

    ‘करेन्ट चाउचाउ’ उत्पादन गर्ने यस उद्योगमा श्रमिकहरूले उद्योगको मूलगेटमै धर्ना दिँदै न्यायको माग गरेका छन्। आन्दोलन चर्किएसँगै उद्योग परिसर नाराबाजीले गुन्जिएको छ। उनीहरूले माग सम्बोधन नभएसम्म काममा नफर्किने चेतावनीसमेत दिएका छन्।

    श्रमिकहरूको भनाइमा, पटक–पटक ध्यानाकर्षण गराउँदा पनि व्यवस्थापनले बेवास्ता गरेपछि बाध्य भएर आन्दोलन सुरु गर्नुपरेको हो।

    वर्षौंदेखि कम्पनीमा कार्यरत श्रमिक कमलेश गुप्ताका अनुसार दैनिक १२ घण्टा काम गरे पनि उद्योगले ८ घण्टाको मात्र पारिश्रमिक दिने गरेको छ। श्रम ऐनअनुसार दैनिक ८ घण्टाको आधारभूत पारिश्रमिक ४७० र महङ्गी भत्ता २८४ जोडेर ७५४ रुपैयाँ दिनुपर्ने भए पनि कम्पनीले त्योभन्दा कम तलब दिने गरेको उनले बताए। गुप्ताका अनुसार १२ घण्टा काम गर्दा १,१५८ रुपैयाँ दिनुपर्नेमा उद्योगले प्रतिदिन ४०४ रुपैयाँ शोषण गरिरहेको छ।

    यशोदा फुड्सका अध्यक्ष तथा विवादित व्यापारी चुन्न प्रसाद शर्माले कम्पनीमा २२ सय श्रमिकलाई रोजगारी दिएको दाबी गर्दै आएका छन्। तर गणनाअनुसार, श्रमिकलाई दिइनुपर्ने न्यूनतम पारिश्रमिक नदिँदा उद्योगले वार्षिक ३२ करोड ४४ लाख रुपैयाँभन्दा बढी शोषण गरिरहेको तथ्य सार्वजनिक भएको छ।

    शुक्रबार आन्दोलित श्रमिकहरू न्यायको मागसहित शिवराज नगरपालिकामा पुगेका थिए। नगरप्रमुख अजय थापाले श्रमिकको माग सम्बोधन गर्न उद्योगलाई तत्काल निर्देशन दिएका छन्। साथै, न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने र श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गराउनुपर्ने सूचना पनि नगरपालिकाले सार्वजनिक गरेको छ।

    यसैबीच, श्रमिक समर्थनमा उत्रिएका सामाजिक अभियन्ताहरूले यशोदा फुड्सले श्रमिकको पसिना र श्रमको मूल्य खुलेआम शोषण गरेको आरोप लगाउँदै ‘करेन्ट चाउचाउ बहिष्कार अभियान’ सुरु गरेका छन्।



    nayapana nayapana    
  • १६ भाद्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP