विदेशमा अध्ययन, रोजगारी तथा विभिन्न अवसरका सिलसिलामा पुगेका नेपालीमाझ निरन्तर सांगीतिक प्रस्तुति दिँदै आएको नेपथ्य अब मलेसियामा रहेका नेपाली श्रोतामाझ पहिलोपटक पुग्ने भएको छ।
क्यानडा र न्युजिल्यान्ड भ्रमण सम्पन्न गरी गत साता स्वदेश फर्किएको समूहले आगामी जुन १ अर्थात् जेठ १८ गते मलेसियाको राजधानी क्वामामपुरमा विशेष सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने भएको हो।
कार्यक्रम ‘जेप क्वालालम्पुर’ नामक अन्तर्राष्ट्रिय प्रस्तुति भवनमा आयोजना हुँदैछ। जापानको ‘जेप’ सञ्जालअन्तर्गत सञ्चालित उक्त प्रस्तुति भवन क्वालालम्पुरको चर्चित पर्यटकीय क्षेत्र बुकित बिन्ताङमा अवस्थित छ।
साढे तीन दशक लामो सांगीतिक यात्रामा नेपथ्य पहिलोपटक मलेसियाली दर्शकमाझ पुग्न लागेको हो। यससँगै मलेसिया नेपथ्यको प्रस्तुति पुगेको २०औँ देश तथा क्वालालम्पुर ५८औँ अन्तर्राष्ट्रिय सहर बन्नेछ।
नेपथ्यको सांगीतिक यात्रा युवापुस्ताको संघर्ष, सपना र जीवन भोगाइसँग जोडिँदै आएको छ। वैदेशिक रोजगारीका गन्तव्यहरू नै समूहका प्रारम्भिक यात्राका आधार बनेका थिए। गत वर्ष प्रकाशित नेपथ्यको जीवनीमा पनि जापान र हङकङका प्रारम्भिक अनुभवलाई विशेष रूपमा समेटिएको छ।
समूहले पछिल्ला कार्यक्रममा प्रस्तुत गर्दै आएको ‘मै मरिजाउँला, जीवन छोटो छ’ बोलको गीतमा पनि श्रम र संघर्षमार्फत परिवारको भविष्य उज्यालो बनाउने युवाको कथा चित्रित गरिएको छ।
मुख्य गायक तथा समूहका अगुवा अमृत गुरुङले मलेसियामा रहेका नेपाली दर्शकसँग प्रत्यक्ष भेट हुन लागेकोमा उत्साह व्यक्त गरेका छन्।
उनले भने, “लामो समयदेखि सामाजिक सञ्जालमार्फत संवाद गरिरहेका दर्शकमाझ यसपटक प्रत्यक्ष पुग्न पाउँदा अत्यन्त खुसी लागेको छ। देशको अर्थतन्त्रलाई टेवा पुर्याइरहेका युवासँग स्वदेशको माया बाँड्न हामी आतुर छौँ।”
स्थानीय आयोजक संस्था आर्विटरी ईभेन्टका अनुसार क्वालालम्पुरसहित मलेसियाका विभिन्न सहरमा रहेका नेपालीबीच कार्यक्रमलाई लिएर उल्लेखनीय उत्साह देखिएको छ। दर्शकको सुविधालाई ध्यानमा राख्दै विद्युतीय माध्यमसँगै घरमै टिकट पुर्याउने व्यवस्था पनि मिलाइएको आयोजकले जनाएको छ।
नेपथ्यले विश्वका विभिन्न मुलुकमा प्रस्तुति दिँदै नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै आएको छ। यसपटकको कार्यक्रममा पनि कलाकार, प्राविधिक तथा व्यवस्थापन टोलीसहित समूह क्वालालम्पुर पुग्नेछ।
कार्यक्रममा अमृत गुरुङलाई ढोलवादनमा ध्रुव लामा, आधार गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी तथा स्वरपेटीवादनमा दिनेशराज रेग्मीले साथ दिनेछन्।
प्रतिक्रिया