नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ कहिले कपिलवस्तुमा धान रोपिरहेका हुन्छन् भने, कहिले जुम्लामा स्याउका विरुवा रोप्दै गरेको देखिन्छन् ।
केही अगाडि कालीकोट पुगेर भेडा फर्म उद्घाटन गरेका विप्लवले पछिल्लो ३ हप्ता पूर्वी नेपालको राजनीतिक एवं सांगठनिक भेटघाट र काठमाडौंमा समाजवादी मोर्चा लगायत पार्टीका विभिन्न कार्यक्रममा बिताए । त्यसपछि कपिलवस्तु फर्किएका विप्लव सचिवालय टोली लिएर शिवगढी केन्द्रीय कार्यालयबाट झन्डै २० किलोमिटर टाढा पार्टीले सञ्चालन गरेको जनकम्युन सीमा पुगेका छन् ।
आफूसहित १५ जनाको सचिवालय टोलीले अर्घाखाँचीको शितगंगामा अकबरे खुर्सानी लगाइरहेका छन् । शितगंगा नगरपालिका-११ मान्द्रेमा रहेको कृषि जनकम्युनमा महासचिव विप्लव, उनका निजी सचिव अडिग बोगटी लगायतको टोलीले अकबरे खुर्सानी रोपिरहेको छ ।
देशलाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिने पार्टीको नीति अनुरूप नेकपाले देशभर उत्पादन अभियानलाई व्यापक बनाएको पार्टी सम्बद्ध पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले बताए ।
अर्घाखाँची पुगेका विप्लवले खुर्सानी रोप्दै सामूहिक व्यावसायिक उत्पादन आत्मनिर्भरताका लागि अनिवार्य भएको बताए। ‘आत्मनिर्भरताका लागि यो कार्य अनिवार्य छ। अनि मात्र देश समृद्ध हुन्छ’, विप्लवले भने ।
प्रतिक्रिया