नेपालको वैदेशिक व्यापार लामो समयदेखि आयातमुखी छ। निर्यातको तुलनामा आयातको हिस्सा अत्यधिक हुँदा मुलुकले निरन्तर ठूलो व्यापार घाटा व्यहोर्दै आएको छ। औद्योगिक उत्पादनको सीमितता, कमजोर निर्यात आधार र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी क्षमता अभावका कारण नेपालको व्यापार सन्तुलन चुनौतीपूर्ण अवस्थामा छ। तर यही चुनौतीबीच कृषि, खाद्य प्रशोधन र मौलिक उत्पादनमा आधारित केही वस्तुले विश्व बजारमा सम्भावनाको नयाँ ढोका खोल्न थालेका छन्। पछिल्लो समय नेपाली अचारको बढ्दो निर्यात त्यसैको एउटा उदाहरण बनेको छ।
अचार व्यापार : घरेलु स्वाददेखि विश्व बजारसम्म
कुनै समय नेपाली भान्सामा सीमित रहेको अचार अहिले व्यावसायिक उत्पादन र निर्यातयोग्य वस्तुका रूपमा विस्तार हुँदै गएको छ। चालु आर्थिक वर्षको ११ महिनामा मात्रै नेपालबाट २१ करोड १६ लाख ९८ हजार रुपैयाँ बराबरको अचार विभिन्न मुलुकमा निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। नेपाली अचार अहिले इटाली, अस्ट्रेलिया, बेलायत, क्यानडा, जापान, दक्षिण कोरिया, अमेरिका, बेल्जियम, मौरिसस, डेनमार्क, संयुक्त अरब इमिरेट्स, मलेसिया र भारतलगायत मुलुकमा पुगिरहेको छ।
निर्यात बजारमा इटाली सबैभन्दा अगाडि रहेको छ। चालु आवको ११ महिनामा इटालीमा मात्रै ३ करोड ७३ लाख ८७ हजार रुपैयाँ बराबरको ५७ हजार २६७ किलो अचार निर्यात भएको छ। अस्ट्रेलियामा ३ करोड ६४ लाख ८९ हजार र बेलायतमा ३ करोड ६१ लाख ६ हजार रुपैयाँ बराबरको अचार पुगेको छ। यसले नेपाली स्वादप्रतिको अन्तर्राष्ट्रिय आकर्षण विस्तार हुँदै गएको देखाउँछ।
विदेशमा रहेका नेपाली समुदायले आफ्नो मौलिक स्वादसँग जोडिन खोज्दा नेपाली अचारको माग बढेको हो। पछिल्लो समय नेपाली खानाप्रति रुचि राख्ने विदेशी उपभोक्तासम्म पनि यस्ता उत्पादन पुग्न थालेका छन्। यसले नेपाली अचारलाई प्रवासी बजारभन्दा बाहिर ‘एथनिक फुड’ अर्थात् मौलिक खानाको अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने अवसर सिर्जना गरेको छ।
अचार उद्योगको अर्को महत्वपूर्ण पक्ष भनेको सानो लगानीबाट सुरु भएर विस्तार गर्न सकिने व्यवसाय हुनु हो। पछिल्ला वर्षहरूमा गृहिणी, विद्यार्थी, महिला उद्यमी तथा अन्य पेसामा रहेका व्यक्तिहरू व्यावसायिक अचार उत्पादनमा जोडिएका छन्। यसले स्थानीय कृषि उत्पादनको उपयोग, रोजगारी सिर्जना र साना उद्यमको विकासमा योगदान पुर्याएको छ। ‘आमाको अचार’की संगीता पाण्डेले ३ हजार रुपैयाँमा १० किलो डल्ले खुर्सानीबाट सुरु गरेको व्यवसाय अहिले ठूलो उत्पादन क्षमतामा पुगेको उदाहरणले पनि नेपाली खाद्य प्रशोधन उद्योगको सम्भावना देखाउँछ।
नेपालको व्यापार घाटाको मुख्य कारण निर्यातको कमजोर आधार हो। पेट्रोलियम पदार्थ, मेसिनरी, सवारीसाधन, विद्युतीय उपकरण तथा औद्योगिक कच्चा पदार्थको आयातमा ठूलो रकम बाहिरिने अवस्थामा अचारजस्ता कृषि तथा खाद्य प्रशोधनमा आधारित उत्पादनको निर्यात वृद्धिले निर्यात विविधीकरणको सम्भावना देखाएको छ। आर्थिक वर्ष २०७७/७८ मा केवल ३९ लाख २२ हजार रुपैयाँ बराबरको अचार निर्यात भएकोमा २०८०/८१ मा यो बढेर १५ करोड ८ लाख १७ हजार रुपैयाँ र २०८१/८२ मा १८ करोड २६ लाख ४६ हजार रुपैयाँ पुगेको छ। केही वर्षमै भएको यो वृद्धिले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय सम्भावना उजागर गरेको छ।
तर नेपालले अचार निर्यातसँगै आयातसमेत गरिरहेको छ। चालु आर्थिक वर्षको ११ महिनामा ११ करोड ८६ लाख ७५ हजार रुपैयाँ बराबरको अचार आयात भएको छ। चीनबाट मात्रै ८ करोड ४८ लाख ८१ हजार रुपैयाँ र भारतबाट ३ करोड ३३ लाख ९१ हजार रुपैयाँ बराबरको अचार आयात भएको तथ्यांक छ। यसले स्वदेशी बजारमा अचारको माग ठूलो रहेको देखाउँछ। गुणस्तर, उत्पादन क्षमता र वितरण प्रणाली सुधार गर्न सके नेपालले आयात प्रतिस्थापनसँगै निर्यात पनि थप विस्तार गर्न सक्ने देखिन्छ।
अन्तर्राष्ट्रिय बजारमा दीर्घकालीन उपस्थिति बनाउन नेपाली अचार उद्योगले खाद्य सुरक्षा मापदण्ड, आकर्षक प्याकेजिङ, ब्रान्डिङ र निरन्तर आपूर्तिमा ध्यान दिनुपर्ने आवश्यकता छ। नेपाली अचारको बढ्दो निर्यात केवल एउटा खाद्य वस्तुको व्यापार वृद्धि होइन, यो स्थानीय कृषि, घरेलु सीप, महिला उद्यमशीलता र नेपाली मौलिक पहिचानलाई विश्व बजारसँग जोड्ने अवसर पनि हो। व्यापार घाटा घटाउने नेपालको चुनौतीबीच यस्ता साना तर सम्भावनायुक्त उत्पादनले निर्यातमुखी अर्थतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ।
प्रतिक्रिया