logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्रीलाई कप्तान किरणको आग्रह: एसिया कप छनोट खेल नेपालमै गर्न पहल होस्

    • nayapana nayapana
    • १६ पुष २०८१ मंगलवार
    प्रधानमन्त्रीलाई कप्तान किरणको आग्रह: एसिया कप छनोट खेल नेपालमै गर्न पहल होस्

    नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

    सोमबार भेट गर्दै लिम्बूले एएफसी एसिया कप छनोटअन्तर्गत ‘होम म्याच’ नेपालमै आयोजना गर्नका लागि पहलकदमी लिन आग्रह गरेका छन्।

    एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणमा नेपाल समूह ‘एफ’मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्।

    जसअन्तर्गत नेपालले मार्च २५ मा होम म्याच मलेसियासँग खेल्ने तय छ। तर दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउने वा नपाउने निश्चित नहुँदा नेपालले आफ्नो ‘होम म्याच’ घरेलु मैदानमा खेल्ने निश्चित छैन।

    पछिल्लो पटक दशरथ रंगशालाको मैदान खराब भएपछि नेपालले आफ्नो होम म्याच समेत विदेशमा खेल्नु परेको थियो।

    आगामी मार्चमा मलेसियासँग हुने खेलका लागि एसियाली फुटबल महासंघका प्रतिनिधिले दशरथ रंगशालाको निरिक्षण गर्नेछन्। त्यसपछि मैदान खेल्न योग्य हुने वा नहुने पक्का हुनेछ।

    यसअघि अखिल नेपाल फुटबल संघले राष्ट्रिय खेलकुद परिषदसँग मैदान सुधारका लागि छलफल गरेको थियो। कप्तान किरणले पनि होम म्याच नेपालमै आयोजना गराउने वातावरण बनाउने फुटबल संघ नेतृत्वलाई आग्रह गरेका थिए।

    होम म्याच नेपालमै हुने वा नहुने अन्योल बढेपछि कप्तान किरणले यस विषयमा प्रधानमन्त्री ओलीलाई पनि जानकारी गराएका हुन्।

    ‘नेपाली खेल क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन भविष्यमा महत्वपूर्ण निर्णयहरू हुनेछन् भन्ने विश्वास छ। हामीले नेपालमै एएफसी एसिया कपको छनोट खेल आयोजना गर्नको लागि प्रधानमन्त्रीज्यूलाई पहलकदमीको लागि अनुरोध गरिसकेका छौँ,’ ओलीसँगको भेटबारे किरणको भनाइ छ, ‘उहाँको पहलकदमीले सकारात्मक परिणाम आउनेमा हामीलाई विश्वास छ।’

    एसियन कप छनोटमा मार्चमा मलेसियासँग होम म्याच खेलेपछि नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग अवे म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने तय छ।

    सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा लागि समूह विजेता मात्र छनोट हुनेछ।



    nayapana nayapana    
  • १६ पुष २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP