सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पा (पादावा शेर्पा) का लागि सगरमाथा केवल हिमाल होइन, जीवनको अभिन्न हिस्सा हो। बाल्यकालमै हिमालसँग जोडिएको उनको यात्रा आज विश्वकै अग्लो शिखर सगरमाथासम्म ३१ पटक पुगेको गौरवपूर्ण इतिहासमा परिणत भएको छ।
विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पापछि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्तिका रूपमा चिनिएका पासाङ दावा शेर्पाले सगरमाथासहित चोयू, ल्होत्से र मनास्लुजस्ता आठ हजार मिटरभन्दा अग्ला हिमालहरूमा ४३ पटक पाइला राखिसकेका छन्।
सन् १९९८ मा पहिलोपटक सगरमाथा आरोहण गर्दा उनले चर्चित बेलायती साहसिक अभियन्ता एडवार्ड माइकल ‘बियर’ ग्रिल्सलाई गाइड गर्दै शिखरसम्म पुर्याएका थिए। त्यतिबेला आजजस्तो सहज प्रविधि र सुविधा थिएन। जोखिम, संघर्ष र साहसकै भरमा उनले हिमालसँगको सम्बन्ध सुरु गरेका थिए।
उनीसँग हिमाल, आरोहण, बदलिँदो सगरमाथा र शेर्पा समुदायको भविष्यबारे गरिएको कुराकानीको सम्पादित अंशः
मैले १२–१३ वर्षको उमेरदेखि नै ट्रेकिङमा भरियाका रूपमा काम गर्न थालेको हुँ। त्यसपछि किचेन ब्वाई, कुक हुँदै विस्तारै माउन्टेन गाइडको भूमिकामा पुगेँ।
सन् १९९८ मा पहिलोपटक सगरमाथाको शिखरमा पुगेँ। त्यो आरोहण अहिलेको जस्तो सहज थिएन। त्यतिबेला साउथकोलभन्दा माथि सुरुमै डोरी टाँग्ने (रोप फिक्सिङ) चलन थिएन। बाटो आफैँ बनाउँदै जानुपर्थ्यो। हामी पहिलो प्रयासमा साउथ समिटबाट फर्किएका थियौँ। दोस्रो प्रयासमा मात्रै सफल भयौँ।
त्यतिबेला विभिन्न आरोहण दलका शेर्पाहरूले थोरै–थोरै डोरी टाँगेर बाटो बनाउनु पर्थ्यो। हाम्रो टोलीको डोरी साउथ समिट पुगेपछि सकियो। हिलारी स्टेप पार गर्न निकै कठिन भयो।
साउथ समिट नजिकै हामी झन्डै सय मिटर जति चिप्लिएका थियौँ। त्यसपछि आधार शिविर फर्किएर करिब एक हप्ता आराम गर्यौँ र फेरि प्रयास गर्दा शिखर पुग्यौँ।
त्यतिबेला बियर ग्रिल्स अहिले जस्तो चर्चित थिएनन्। उनी सामान्य आरोहीका रूपमा आएका थिए।
यसपटक एउटा अमेरिकी कम्पनी र नेपालको ट्रेक नेपालबीचको सहकार्यमा भएको आरोहण दलमा आबद्ध भएर मैले १८ मेमा आरोहण गरेँ। त्यसपछि १९ मे बिहान आधार शिविर फर्किएर आराम गरेँ र २० मेमा फेरि शिखरतर्फ लागेँ। २२ मेमा दोस्रोपटक शिखर पुगेँ।
दोस्रो आरोहण भने मैले कुनै विदेशी आरोही नलिई एक्लै गरेको थिएँ।
परिवर्तन धेरै भएका छन्। पहिले किचेन टेन्टको अवस्था अहिले जस्तो थिएन। आइसमाथि ढुङ्गा बटुलेर गोठजस्तो बनाएर खाना पकाउने व्यवस्था गर्नुपर्थ्यो।
अहिले किचेन, डाइनिङ सबै व्यवस्थित भएका छन्। कार्पेटसम्म ओछ्याएर आरामदायी बनाइएको हुन्छ।
साहसिकता घटेको भन्दा पनि सुविधा बढेको भन्नुपर्छ। अहिले कम्पनीहरूबीच कसले राम्रो सेवा दिने भन्ने प्रतिस्पर्धा बढेको छ।
विदेशी आरोहीहरूले पनि सुविधा खोज्छन् र त्यसअनुसार शुल्क तिर्छन्। त्यसैले कम्पनीहरूले पनि त्यहीअनुसार व्यवस्था गर्छन्।
खुम्बु आइसफलमा धेरै हिउँ पर्दा आइस धेरै देखिन्छ र कम हिउँ पर्दा पग्लिएको जस्तो देखिन्छ। पहिलेभन्दा केही ठाउँमा परिवर्तन आएको महसुस हुन्छ, तर मैले ठूलो परिवर्तन नै भएको अनुभव गरेको छैन।
सन् २००० आसपाससम्म मौसम पूर्वानुमान अहिले जस्तो भरपर्दो थिएन। आरोहीहरूले धेरै जोखिम लिनुपर्थ्यो।
अहिले मौसमको रिपोर्ट हेरेर योजना बनाउन सकिन्छ। आधार शिविरभन्दा माथि इन्टरनेटको पहुँच पुगेपछि कहाँ के भइरहेको छ भन्ने जानकारी लिन सजिलो भएको छ।
एकपटक एक हङ्गेरियन आरोही बिना अक्सिजन सगरमाथा चढ्ने प्रयासमा थिए। साउथ समिट पुगेपछि उनलाई निकै गाह्रो भयो।
हामीले उनलाई बाँधेर घिसार्दै क्याम्प–टूसम्म ल्यायौँ। उनको जीवन त बचायौँ, तर त्यो निकै कठिन काम थियो।
भीड बढेको हो। खुम्बु आइसफलको बाटो खुल्न ढिलो हुँदा झन् धेरै भीड देखियो।
तर यसपटक दुर्घटना तुलनात्मक रूपमा कम भयो। त्यसैले यो सफल र सुरक्षित आरोहण वर्षका रूपमा लिन सकिन्छ।
त्यस्तो प्रतिस्पर्धा होइन। मैले गरेका अधिकांश आरोहण अरू आरोहीलाई गाइड गरेर भएका हुन्।
यस वर्षको ३१औँ आरोहण भने पहिलोपटक कुनै आरोही नलिई आफ्नै लागि गरेको हुँ।
पहिलेभन्दा अहिले धेरै सुधार भएको छ। पहिले साउथकोलमा अक्सिजनका सिलिन्डर र पुराना पालहरू छरपस्ट देखिन्थे। अहिले त्यस्तो अवस्था छैन।
हिमाल सफा गर्न सजिलो छैन। बरफले थिचिएका सामग्री निकाल्न निकै कठिन हुन्छ। अहिले पहिले जस्तो बाटोमा लासहरू पनि धेरै देखिँदैनन्।
व्यक्तिगत रूपमा हेर्दा दुई–तीन वर्ष आराम दिन पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ। तर आरोहणसँग धेरै मानिसको रोजगारी जोडिएको छ।
राज्यको आम्दानीदेखि ट्याक्सी चालक, होटल व्यवसायी, भरिया र स्थानीय समुदायसम्म यसको प्रभाव पर्छ। त्यसैले निर्णय गर्न सजिलो छैन।
केही सम्मान भएको छ, तर महसुस हुने गरी अझै धेरै गर्न बाँकी छ। यस वर्ष पर्यटन बोर्डले मलाई नगदसहित सम्मान गर्यो। तर सबैले यस्तो अवसर पाउँदैनन्।
खुम्बु क्षेत्रका धेरै शेर्पाहरूको नयाँ पुस्ता यो पेसाबाट टाढिँदै गएको छ। तर मकालु क्षेत्र, सोलुखुम्बुका अन्य ठाउँ र राई, गुरुङजस्ता समुदायबाट नयाँ पुस्ता यस क्षेत्रमा आइरहेका छन्।
पहिलो र दोस्रोपटक शिखर पुग्दा निकै खुसी लाग्थ्यो। आफूले गाइड गरेको आरोहीलाई शिखरसम्म पुर्याउँदा झन् गर्व लाग्थ्यो।
तर अहिले शिखर पुगेपछि खुसीभन्दा पनि जिम्मेवारीको भावना आउँछ। आफूले लगेको आरोहीलाई सुरक्षित रूपमा कसरी तल ल्याउने भन्ने चिन्ता हुन्छ।
ज्यानले साथ दिएसम्म जारी राख्छु। पाँच–छ वर्ष पनि हुन सक्छ, दुई–तीन वर्ष पनि हुन सक्छ। ठ्याक्कै भन्न सकिँदैन।
वसन्त ऋतु आएपछि मेरो ध्यान हिमालतिरै जान्छ। बाँकी समयमा खेतीपाती गर्छु र मेरी श्रीमतीको दिङबोचेमा रहेको सानो व्यवसायमा समय दिन्छु।
हिमालमा काम गर्ने शेर्पा र उनीहरूका परिवारको सामाजिक सुरक्षाका लागि राज्यले स्थायी व्यवस्था गरिदिए राम्रो हुन्थ्यो। धेरै साथीहरूले यो विषय उठाउँदै आएका छन्। अब व्यवहारमा केही काम होस् भन्ने चाहना छ।
प्रतिक्रिया