भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा अवस्थित चखेवा भञ्ज्याङ पछिल्लो समय पूर्वी नेपालको उदीयमान पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक समृद्धि र पहुँचयुक्त पूर्वाधारले यस क्षेत्रलाई पर्यटकका लागि सहज गन्तव्य बनाएको हो।
समुद्री सतहबाट २,३५१ मिटरको उचाइमा अवस्थित चखेवा भञ्ज्याङ भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटर दूरीमा पर्छ। कालोपत्रे सडकले जोडिएको यो स्थल स्थानीय खानाका स्वाद र प्राकृतिको न्यानोपन महसुस गर्न चाहने पर्यटकहरूको रोजाइमा पर्दै गएको छ।
टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार चखेवा क्षेत्रलाई संस्कार, संस्कृति र सभ्यताको पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। “चखेवा हाम्रो गाउँपालिकाको महत्त्वपूर्ण पर्यटकीय क्षेत्र हो,” अध्यक्ष बस्नेतले भने, “यसलाई पूर्वको स्थापित गन्तव्य बनाउन हामी योजनाबद्ध रूपमा अघि बढिरहेका छौँ।”
चखेवा भञ्ज्याङ मध्य पहाडी लोकमार्गसँगै मुन्दुम पदमार्गको केन्द्र विन्दुमा पर्छ, जसले गर्दा यस क्षेत्रको पर्यटकीय महत्व झनै बढेको छ। गाउँपालिकाले बृहत् सांस्कृतिक सङ्ग्रहालय, पार्क तथा संस्कृति अध्ययन केन्द्र निर्माणका लागि केन्द्र सरकारबाट करिब ३ करोड रुपैयाँको बजेटसमेत सुनिश्चित गरिसकेको छ।
गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईका अनुसार चखेवा र मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि विभिन्न सांस्कृतिक मेला तथा महोत्सव पनि आयोजना हुँदै आएका छन्। पर्यटकीय विकाससँगै स्थानीय आर्थिक सशक्तीकरणका लागि कृषि र पर्यटनलाई आधार मानी योजनाबद्ध काम भइरहेको पनि उनले बताइन्।
गाउँपालिकाले “कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार: टेम्केमैयुङ विकासको आधार” भन्ने मूल नारासहित चखेवा क्षेत्रको विकासमा लगनशीलता देखाएको छ। अबको लक्ष्य भनेको पूर्वाधार सुदृढीकरण, सांस्कृतिक सम्पदा संरक्षण र स्थायी पर्यटनको माध्यमबाट स्थानीय जीवनस्तरमा रूपान्तरण ल्याउनु हो।
प्रतिक्रिया