सिस्ने शिक्षा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा क्याम्पस परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
वातावरण संरक्षण, स्वच्छ शैक्षिक वातावरण निर्माण तथा विद्यार्थीमा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी, स्ववियु पदाधिकारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले क्याम्पस परिसरको सरसफाइ गर्नुका साथै विभिन्न प्रजातिका बिरुवा रोपेर हरियाली प्रवर्द्धनमा योगदान दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै वृक्षारोपण र सरसफाइजस्ता अभियानलाई एकदिने कार्यक्रमका रूपमा सीमित नराखी निरन्तर अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले शैक्षिक संस्थाले विद्यार्थीलाई ज्ञानसँगै सामाजिक उत्तरदायित्व र वातावरणप्रतिको दायित्वबोध गराउने यस्ता कार्यक्रमलाई नियमित बनाउनुपर्ने धारणा व्यक्त गरे।
स्ववियुले क्याम्पसलाई स्वच्छ, हराभरा र वातावरणमैत्री बनाउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। विद्यार्थीको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको भन्दै स्ववियुले सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया