प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपूर्ण, समावेशी र समतामूलक विश्व शासन प्रणालीको खाँचो औँल्याउँदै संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर बहुपक्षीय प्रणालीलाई सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले मंगलबार ‘साङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लस’ बैठकलाई सम्बोधन गर्दै, बहुपक्षीयता आजको युगको अपरिहार्य आवश्यकता भएको बताएका हुन्। बैठकमा उनले चीनले प्रस्ताव गरेको ग्लोबल गभर्नेन्स इनिसिएटिभ (GGI) ले संयुक्त राष्ट्र सङ्घको नेतृत्वमा साझा भविष्य निर्माणको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि र नवीनतामा अकल्पनीय उन्नति भए पनि विश्व अझै असमानता, आर्थिक अस्थिरता, जलवायु सङ्कट र सीमाविहीन द्वन्द्वका छायाँमा रहेको बताए।
“कुनै पनि राष्ट्र एक्लै सुरक्षित रहन सक्दैन, कुनै पनि जनता टुक्रिएको अवस्थामा समृद्ध हुन सक्दैन,” — प्रधानमन्त्री ओली।
उनका अनुसार, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई चुनौती दिइएको छ, जसले शान्ति र न्यायलाई टाढा बनाएको छ। उनले भने, “बहुपक्षीयता आफैं सङ्कटमा छ, र यो सङ्कट बाह्य मात्र होइन, कार्यान्वयनमा देखिएको कमजोरीको परिणाम पनि हो।”
प्रधानमन्त्री ओलीले एससीओजस्ता क्षेत्रीय मञ्चहरूले सार्वभौम समानतामा आधारित ‘पुनरुत्थानशील बहुपक्षीयता’लाई समर्थन गर्नु आवश्यक भएको बताए। उनले संगठनलाई अझ एकीकृत, लचिलो र भूराजनीतिक, आर्थिक तथा पारिस्थितिक चुनौतीहरूसँग जुध्न सक्षम बनाउनु पर्नेमा जोड दिए।
उनले आतंकवाद, जलवायु परिवर्तन, साइबर आक्रमण, महामारी र पारिस्थितिक संकट जस्ता उदीयमान खतराहरूको सामना गर्न क्षेत्रीय सहकार्य अपरिहार्य भएको उल्लेख गरे। विशेषगरी जलवायु परिवर्तनको सन्दर्भमा नेपालजस्ता हिमाली मुलुकहरूको चासोलाई विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
“हिमालमा पग्लँदो हिउँले तल्लो तटीय क्षेत्रका अर्बौं मानिसको जीवनलाई जोखिममा पारेको छ,” — प्रधानमन्त्री ओली।
बहुपक्षीय मञ्चहरूमा गरिने वाचा र प्रतिवद्धता व्यवहारमा परिणत नहुँदा नागरिकहरूको विश्वास गुम्ने खतरा रहेको उल्लेख गर्दै, ओलीले भने कि अब सहकार्य, संवाद र विश्वास निर्माणको समय आएको छ।
“अब एक्लोपनाबाट सम्पर्क सञ्जालतर्फ, टकरावबाट परामर्शतर्फ, प्रतिस्पर्धाबाट सहकार्यतर्फ जानुपर्छ,” — प्रधानमन्त्री ओली।
प्रधानमन्त्री ओलीले ‘साङ्घाई भावना’लाई आत्मसात् गर्दै, मित्रता, सहकार्य, समानताको आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले क्षेत्रीय तथा विश्वव्यापी साझेदारी, संवाद र कूटनीतिलाई तीव्रता दिन आह्वान गरे।
उनले स्पष्ट रूपमा भने, “हामीले विभाजन होइन, साझेदारी चाहिन्छ। बहुपक्षीयतामा आधारित न्यायपूर्ण, समावेशी र लचिलो अन्तर्राष्ट्रिय संरचना निर्माण नै दिगो विकासको आधार हो।”
प्रधानमन्त्री ओलीले एससीओ सदस्य राष्ट्रहरूसँगको सम्बन्ध सुदृढ पार्ने नेपाल सरकारको अटल प्रतिबद्धता पुनः दोहोर्याए। दिगो भविष्य निर्माणका लागि नियममा आधारित, समावेशी बहुपक्षीय प्रणालीमा नेपालको समर्थन रहने उल्लेख गर्दै उनले सबै राष्ट्रले मिलेर अघि बढ्दा मात्रै साझा समृद्धि सम्भव हुने धारणा राखे।
प्रतिक्रिया