logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    मुस्ताङमा आठ महिनामै एक लाख १६ हजार विदेशी पर्यटक, ऐतिहासिक वृद्धि

    • nayapana nayapana
    • १७ भाद्र २०८२ मंगलवार
    मुस्ताङमा आठ महिनामै एक लाख १६ हजार विदेशी पर्यटक, ऐतिहासिक वृद्धि

    सन् २०२५ को जनवरीदेखि अगष्ट महिनासम्म मुस्ताङ जिल्लामा एक लाख १६ हजार ७८७ जना विदेशी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) अन्तर्गत इलाका संरक्षण कार्यालय, जोमसोमले सार्वजनिक गरेको तथ्यांक अनुसार यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.९८ प्रतिशतले बढी हो।

    भित्रिएका कुल पर्यटकमध्ये ८६.६२ प्रतिशत अर्थात् एक लाख एक हजार १६१ जना सार्क राष्ट्र (विशेषगरी भारत) का पर्यटक रहेका छन् भने बाँकी १३.३७ प्रतिशत, अर्थात् १५ हजार ६२६ जना अन्य देशबाट आएका छन्।

    कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार, सार्क राष्ट्रबाट विशेषगरी भारतीय पर्यटकको उपस्थितिले मुस्ताङको पर्यटनमा प्रमुख भूमिका खेलेको छ। “यहाँ आउने करिब ८० प्रतिशत भारतीय पर्यटक मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने गरेका छन्,” उनले बताए।

    महिना अनुसार हेर्दा, अप्रिल र मे महिनामा सर्वाधिक पर्यटक आएका थिए। विवरण यस्तो छ:

    • जनवरी: ४,३४६ (सार्क: ३,८३० | अन्य: ५१६)
    • फेब्रुअरी: ५,३०३ (सार्क: ४,५१० | अन्य: ७९३)
    • मार्च: १९,०९५ (सार्क: १६,५०७ | अन्य: २,५८८)
    • अप्रिल: २३,१५२ (सार्क: १८,३०४ | अन्य: ४,८४८)
    • मे: २५,७२७ (सार्क: २१,९४६ | अन्य: ३,७८१)
    • जुन: २०,८५८ (सार्क: १९,६४९ | अन्य: १,२०९)
    • जुलाई: १०,६१९ (सार्क: ९,७९४ | अन्य: ८२५)
    • अगष्ट: ७,६८७ (सार्क: ६,६२१ | अन्य: १,०६६) 

    सन् २०२४ को यही अवधिमा कुल ९१,१०९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए। तीमध्ये ७८,७६० जना सार्क राष्ट्रबाट र १२,३४९ जना अन्य मुलुकबाट आएका थिए। यो वर्ष सार्क राष्ट्रबाट २२,४०१ जना (२२.१४%) र अन्य मुलुकबाट ३,२७७ जना (२०.९७%) ले वृद्धि भएको देखिएको छ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले मुस्ताङलाई ‘अवश्य घुम्नुपर्ने गन्तव्य’ को सूचीमा राखेपछि विदेशी पर्यटकको आकर्षण थप बढेको जानकारहरू बताउँछन्। त्यसमाथि राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको अवस्थिति क्रमशः सुधारिएपछि यात्राको सहजता पनि बढेको छ।

    मुस्ताङको धार्मिक, सांस्कृतिक र प्राकृतिक विविधता यहाँको प्रमुख आकर्षण बनेको छ। मुक्तिनाथ मन्दिर, प्राचीन गुम्बा, माने, छोर्तेन, लोमान्थाङ दरबार, कोरला नाका, गुफा, तालतलैया र परम्परागत तिब्बती शैलीका घरले पर्यटकहरूलाई लोभ्याइरहेका छन्।

    सन् २०२४ मा जनवरीदेखि डिसेम्बरसम्म मुस्ताङमा एक लाख २५ हजार ७१९ जना विदेशी पर्यटक भित्रिएका थिए। यस वर्षको आठ महिनामै त्यो सङ्ख्यालाई निकट गर्दै गएकोले सन् २०२५ को अन्त्यसम्म पर्यटक आगमन अझै उच्च हुने अपेक्षा गरिएको छ।



    nayapana nayapana    
  • १७ भाद्र २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP