रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला नेतृत्व सम्बन्धी पछिल्लो निर्णयले पार्टीभित्र असन्तुष्टिको तरंग पैदा गरेको छ। केन्द्रीय कार्यालयले जारी गरेको परिपत्रमार्फत जिल्ला इन्चार्जमा तेजबहादुर ओली ‘प्रतिक’ र संयोजकमा कुमारी बराललाई पुनः जिम्मेवारी दिएपछि नेताहरूले सामाजिक सञ्जालमै असन्तुष्टि पोख्न थालेका छन्।
संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रसमेत रहेको रुकुम पूर्वमा देखिएको यो विवादलाई पार्टीभित्र विशेष महत्वका साथ हेरिएको छ।
पार्टी नेता जितमान पुन ‘मार्शल’, होमप्रकाश श्रेष्ठ ‘हिमाल’ र रामसुर बुढा ‘वीरता’ले सामाजिक सञ्जालमार्फत नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। मार्शलले केन्द्रीय कार्यालयको पछिल्लो परिपत्रले आफूलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको टिप्पणी गरेका छन् भने हिमालले नेतृत्व वरिपरि गलत प्रवृत्तिका व्यक्तिहरू हाबी भएको आरोप लगाएका छन्। वीरताले भने जिल्ला नेतृत्वमा या त वरिष्ठ नेताहरू वा नयाँ पुस्तालाई अवसर दिनुपर्ने धारणा सार्वजनिक गरेका छन्।
पार्टीभित्र भने प्रतिकको जिम्मेवारीलाई लिएर देखिएको असन्तुष्टिलाई धेरैले स्वाभाविक रूपमा लिएका छन्। किनभने गत प्रदेशसभा निर्वाचनमा हिमाल र वीरताले प्रतिकविरुद्ध बागी उम्मेदवार खडा गरेको र त्यसले उनको पराजयमा भूमिका खेलेको चर्चा पार्टी वृत्तमा हुने गरेको छ।
तर अहिलेको बहसको केन्द्र केवल इन्चार्ज प्रतिक होइनन्। संयोजक कुमारी बराललाई पुनः जिम्मेवारी दिइएको विषयमा विशेषगरी युवा पंक्तिबाट प्रश्न उठ्न थालेको छ। पार्टीले निरन्तर ‘रुपान्तरण’ र ‘पुस्तान्तरण’को नारा उठाए पनि व्यवहारमा त्यसको अनुभूति नभएको उनीहरूको गुनासो छ।
नाम नखुलाउने सर्तमा एक युवा नेताले भने, “रुपान्तरण खाली नारामा मात्रै सीमित भयो। पार्टी सञ्चालनको शैली र नेतृत्व चयनमा कुनै नयाँपन देखिएन। यही तवरले पार्टी चलाउने हो भने आधार इलाका जोगाइराख्नै चुनौतीपूर्ण हुन्छ।”
उनले थपे, “हामी ४० वर्षमुनिका युवा पंक्ति नेतृत्व लिन तयार छौँ। पार्टीले नयाँ पुस्तामाथि विश्वास गर्न सक्नुपर्छ। निरन्तर एउटै अनुहार दोहोर्याएर संगठन बलियो हुँदैन, बरु कार्यकर्ता पंक्तिमा निराशा बढ्छ।”
पार्टी एकीकरणपछि संगठन सुदृढीकरण, रुपान्तरण र पुस्तान्तरणलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारिएको भए पनि रुकुम पूर्वमा देखिएको असन्तुष्टिले ती प्रतिबद्धता व्यवहारमा कति कार्यान्वयन भएका छन् भन्ने प्रश्न उठाएको छ। विशेषगरी माओवादी आन्दोलनको बलियो आधार क्षेत्र मानिने र प्रचण्डको निर्वाचन क्षेत्रसमेत रहेको जिल्लामा देखिएको असन्तुष्टि नेतृत्वका लागि चेतावनीका रूपमा हेरिएको छ।
यद्यपि, सामाजिक सञ्जालमा उठेका प्रश्न र आलोचनाबारे पार्टीको जिल्ला तथा केन्द्रीय नेतृत्वले हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। तर जिल्लामा नेतृत्व, पुस्तान्तरण र संगठनात्मक पद्धतिबारे बहस भने थप चर्किने संकेत देखिएको छ।
प्रतिक्रिया