काठमाडौं । वरिष्ठ पत्रकार तथा वामपन्थी नेता महेश्वर दाहालले विगतको राजनीतिक संघर्ष र योगदानको आडमा वर्तमानका राजनीतिक कारोबार तथा भ्रष्टाचारलाई वैधता दिन नसकिने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै दाहालले गल्ती स्वीकार गरी व्यवहारबाट नसच्चिएसम्म पुरानो योगदान वर्तमानको प्रमाण बन्न नसक्ने बताएका हुन्।
“आचरण नबदली अभिव्यक्ति मात्र फेरिरहनु भनेको ‘बूढो बिरालो काशी जाने’ भन्दै मुसा खान नछोडेको कथाजस्तै हो,” उनले लेखेका छन्।
दाहालले पराजित भएपछि आत्मसमर्पण गर्ने र अवसर पाएपछि पुनः त्यही कारोबारी प्रवृत्तिलाई बलियो बनाउने व्यवहारले स्वतन्त्र राजनीतिक धारबाट संघर्ष गर्ने बाटोलाई कमजोर बनाउने बताएका छन्।
“राजनीतिक कारोबारीसँग निष्ठा हुँदैन,” उनले उल्लेख गरेका छन्।
उनका अनुसार राजनीतिक संघर्षको वास्तविक मूल्य विगतको योगदानमा होइन, आजको आचरण र व्यवहारमा प्रमाणित हुनुपर्छ।
प्रतिक्रिया