बर्खायाम सुरु भएसँगै विभिन्न रङका वनफूलले ढाकिएको ढोरपाटन उपत्यका यतिबेला आन्तरिक पर्यटकको प्रमुख आकर्षण बनेको छ। चारैतिर अग्ला पहाडले घेरिएको उपत्यकामा राता, पहेँला, गुलाबी र बैजनी रङका वनफूल फुलेपछि प्राकृतिक सौन्दर्य झन् मनमोहक बनेको हो।
नेपालको एकमात्र सिकार आरक्ष रहेको ढोरपाटनमा पछिल्ला तीन वर्षयता सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार बढेसँगै पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ। पहिले मुख्यतः ढोरबराह मन्दिरमा दर्शन गर्न आउने भक्तजन मात्रै पुग्ने यस क्षेत्रमा अहिले दैनिक २०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन्।
होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनका अनुसार वनफूलको सौन्दर्यबारे सामाजिक सञ्जालमा फोटो र भिडियो भाइरल भएपछि ढोरपाटनप्रति पर्यटकको आकर्षण बढेको हो। पर्यटकको सङ्ख्या बढेसँगै स्थानीय होटल तथा पर्यटन व्यवसाय पनि फस्टाउन थालेको उनले बताए।
ढोरपाटनमा फुल्ने वनफूललाई स्थानीयले ‘राके फूल’ भनेर चिन्ने भए पनि ढोरपाटन सिकार आरक्षले यसलाई नाकेफुली, बुकीफूल, मदानेफूललगायत नाम दिएको छ। काठमाडौं, पोखरा, नेपालगन्ज, भैरहवा, चितवनलगायतका विभिन्न स्थानबाट पर्यटक वनफूल अवलोकन गर्न ढोरपाटन पुग्ने गरेका छन्।
चितवनको माडीबाट आएका महेश थापाले सामाजिक सञ्जालमा देखिएका तस्बिर र भिडियोबाट प्रभावित भएर १३ जनाको समूहसहित ढोरपाटन भ्रमणमा आएको बताए। उनले यहाँको वनफूल, प्राकृतिक सौन्दर्य र वातावरण अत्यन्त आकर्षक लागेको प्रतिक्रिया दिए।
दाङको तुल्सीपुरबाट आएका कुलेन्द्र पनेरुले पनि ढोरपाटनको चिसो मौसम र प्राकृतिक सुन्दरता मनमोहक रहेको बताए। उनले सडक पूर्वाधार सुधार गरी प्रभावकारी प्रचारप्रसार गर्न सके विदेशी पर्यटकसमेत आकर्षित गर्न सकिने धारणा राखे।
यद्यपि, बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर सडकको केही भाग जीर्ण रहेकाले यात्रामा कठिनाइ हुने गरेको पर्यटकको गुनासो छ। ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फल्लेघरभन्दा माथिको सडक स्तरोन्नतिको काम भइरहेको र पर्यटकको यात्रा सहज बनाउन आवश्यक व्यवस्थापन गरिने जानकारी दिए।
प्रतिक्रिया