नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनस्थित रमणीय बुकीपाटनमा पर्यटकको चहलपहल बढेसँगै प्लास्टिकजन्य फोहोरको समस्या विकराल बन्दै गएको छ। एक समय गोठालाको मात्रै बासस्थान रहेको यो उच्च हिमाली घाँसे मैदान अहिले दैनिक सयौँ पर्यटकको रोजाइमा परे पनि उनीहरूले छाड्ने नकुहिने फोहोरले प्राकृतिक सौन्दर्य र पर्यावरण दुवैमा गम्भीर असर पुर्याउन थालेको छ।
स्थानीयका अनुसार पर्यटकले प्लास्टिकका पानीका बोतल, चाउचाउ र बिस्कुटका खोल, बियरका सिसालगायतका फोहोर जथाभावी फाल्ने गरेका छन्। यसले बुकीपाटनको स्वच्छ र मनमोहक वातावरण कुरुप बन्दै गएको छ।
ढोरपाटन नगरपालिका–९ का तीर्थबहादुर घर्तीमगरका अनुसार चार वर्षअघिसम्म गोठालाको मात्रै आवतजावत हुने बुकीपाटन अहिले प्रमुख पर्यटकीय गन्तव्य बनेको छ। तर, बढ्दो पर्यटक चापसँगै फोहोर व्यवस्थापनको अभावले वातावरणीय चुनौती थपिएको उनी बताउँछन्।
फोहोर मात्र होइन, पर्यटकले वनफूल कोपिलामै टिप्ने प्रवृत्तिले पनि यस क्षेत्रको जैविक विविधतामा खतरा बढाएको छ। समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको बुकीपाटनमा प्लास्टिक र सिसाजन्य फोहोर बढ्दै गए पनि सरसफाइ तथा व्यवस्थापनमा सम्बन्धित निकायको प्रभावकारी पहल नदेखिएको स्थानीयको गुनासो छ।
ढोरपाटन उपत्यकाको पाखाथरदेखि उकालो पदमार्ग हुँदै बुकीपाटनसम्म बिस्कुट र चाउचाउका खोल, पानीका बोतल, ऊर्जा पेयका क्यान र सिसाका बोतल छरपस्ट देखिन्छन्। स्थानीयले ढोरपाटन सिकार आरक्षले समेत नियमित सरसफाइ अभियान सञ्चालन गरी फोहोर व्यवस्थापनमा सक्रिय भूमिका खेल्नुपर्ने माग गरेका छन्।
ढोरपाटन नगरपालिका–६ का किसान तुलबहादुर अदैका अनुसार पर्यटकले फालेका प्लास्टिकजन्य फोहोर घाँससँग मिसिएर वस्तुभाउले खाँदा बिरामी पर्ने र मर्ने समस्या बढेको छ। गोठालाले विभिन्न स्थानमा फोहोर संकलनका लागि खाल्डा बनाइदिए पनि धेरै पर्यटकले त्यसको प्रयोग नगरी जथाभावी फोहोर फाल्ने गरेका छन्।
स्थानीयका अनुसार गर्पाछेडा, दहखर्क, फुर्सेदेउराली, टीकाधारा र फागुने क्षेत्रमा फोहोरको समस्या सबैभन्दा बढी देखिएको छ। अर्का स्थानीय कुलबहादुर विकले गत वर्ष प्लास्टिक खाएर करिब ६० वटा भेडाबाख्रा तथा गाईभैँसी बिरामी परेको बताए।
बागलुङसहित रोल्पा, रुकुम, डोल्पा र म्याग्दीका गोठालाले आफ्ना वस्तुभाउलाई पोसिलो घाँस चराउन बुकीपाटन ल्याउने गर्छन्। प्राकृतिक सम्पदाको संरक्षणसँगै दिगो पर्यटन प्रवर्द्धन गर्न अब पर्यटक, स्थानीय तह, सिकार आरक्ष र सम्बन्धित सबै निकायले फोहोर व्यवस्थापनमा साझा जिम्मेवारी निर्वाह गर्नु अपरिहार्य देखिएको छ।
प्रतिक्रिया