logo
  • १३ श्रावण २०८३, बुधबार | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    नयाँ गन्तव्य, नयाँ बाटा: म्याग्दीमा पर्यटकीय पूर्वाधारमा ऐतिहासिक फड्को

    • nayapana nayapana
    • ११ श्रावण २०८२ शनिबार
    नयाँ गन्तव्य, नयाँ बाटा: म्याग्दीमा पर्यटकीय पूर्वाधारमा ऐतिहासिक फड्को

    म्याग्दी जिल्लामा पर्यटकीय पूर्वाधारको विकासले गति लिएको छ। आर्थिक वर्ष २०८१/८२ मा पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीमार्फत विभिन्न योजनाहरू सञ्चालन भई ४ दशमलव ३१ किलोमिटर (४.३१ किमि) पदमार्ग निर्माण भएको छ।

    पर्यटन पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा १० वटा योजनामा कार्यान्वयन गरिनुका साथै रु १ करोड २० लाखको बजेट विनियोजन गरिएको थियो। सो बजेटमध्ये रु ९६ लाख २९ हजार ८७६ खर्च भएको कार्यालयका प्रमुख अमृत कँडेलले जानकारी दिनुभयो।

    उहाँका अनुसार सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका हुन्। “भौगोलिक चुनौती, प्रतिकूल मौसम र उपभोक्ताको ढिलासुस्तीका कारण केही योजना पूर्णरूपमा सम्पन्न हुन सकेनन्,” प्रमुख कँडेलले बताउनुभयो, “तर प्राविधिक मूल्याङ्कनपछि आवश्यक भुक्तानी गरिएको छ।”

    पूर्वाधार निर्माणपछि पर्यटक, स्थानीयवासी तथा पर्यटक मजदुरहरूलाई आवतजावतमा सहजता भएको छ।

    प्रमुख योजना विवरण:

    • धौलागिरि गाउँपालिका–५ मा मल्कवाङ डाँडाकटेरी हुँदै रिरावर र ग्यासखार जोड्ने १,४६० मिटर पदमार्ग र सिँढी निर्माण।
    • रघुगङ्गा गाउँपालिका–७ मा कालीबराह मन्दिर हुँदै धौलागिरि आइसफल जोड्ने ८५० मिटर ढुङ्गाको सिँढी युक्त पदमार्ग।
    • रघुगङ्गा गाउँपालिका–२ मा माँझखर्कदेखि साझपानीसम्म ४१० मिटर, नागीदेवी मन्दिरसम्म २९० मिटर, बिम तल्लोगाउँमा २९० मिटर पदमार्ग।
    • अन्नपूर्ण गाउँपालिका–५ को चर्चित गन्तव्य खोप्रालेकमा ५५० मिटर पदमार्ग, रेलिङ, आश्रयस्थल र खानेपानी पाइपलाइनको व्यवस्थापन।
    • बेनपा–६ मा थाकनपोखरी भेटनरी कार्यालय हुँदै एकपाटे मन्दिरसम्म ३५० मिटर सिँढी र ढलानयुक्त पदमार्ग।

    अन्य पूर्वाधार सुधार:

    • गायत्री मन्दिर (रघुगङ्गा–३) मा पर्खाल निर्माण तथा रङरोगन।
    • बराहपाखो (बेनपा–७) मा पार्क निर्माण, पर्खाल, रेलिङ, जमिन ढलान र फलामको बेञ्च।
    • ज्यामरुककोट (बेनपा–२) मा ध्यान आश्रम।

    नागीदेवी मन्दिर परिसरमा दुई वटा चौतारी तथा १०० मिटर तारजालीले सुरक्षित घेराबार।
    बिम तल्लोगाउँ मा पक्की नाला सहितको ढल व्यवस्थापन तथा सोही नालामाथि पदमार्ग निर्माण।
    कार्यालयका इञ्जिनियर सुमन बोगटीका अनुसार यी योजनाहरूले म्याग्दीलाई थप आकर्षक पर्यटकीय गन्तव्य बनाउने आशा गरिएको छ। विशेषगरी खोप्रा लेकजस्ता नयाँ गन्तव्यहरूमा पहुँच सुधारिँदा आन्तरिक तथा बाह्य पर्यटकहरूको चाप बढ्ने अपेक्षा गरिएको छ।



    nayapana nayapana    
  • ११ श्रावण २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP