logo
  • ५ कार्तिक २०८३, बुधबार | Wed, 21 Oct 2026
  • Dark Mode

          Subscribe

    क्रान्तिकारी विद्यार्थी यूनियनद्वारा CTEVT समक्ष ११ बुँदे मागपत्र, सुधार नभए आन्दोलनको चेतावनी

    • nayapana nayapana
    • ९ भाद्र २०८२ सोमबार
    क्रान्तिकारी विद्यार्थी यूनियनद्वारा CTEVT समक्ष ११ बुँदे मागपत्र, सुधार नभए आन्दोलनको चेतावनी

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) विश्वविद्यालय प्रदेश समितिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) समक्ष ११ बुँदे मागपत्र बुझाएको छ। प्राविधिक शिक्षालाई समयानुकूल, व्यवहारिक र गुणस्तरीय बनाउन आवश्यक सुधारको माग गर्दै संगठनले शिक्षा प्रणालीमा देखिएका कमजोरीहरू प्रति सरकार तथा परिषद्को गम्भीर ध्यानाकर्षण गराएको हो।

    शिक्षा प्रणालीमा आधारभूत सुधारको माग
    मागपत्रमा सबै शैक्षिक संस्थामा व्यवस्थित प्रयोगशाला, कार्यशाला, मोडल उपकरण, पुस्तकालय, ई–लाइब्रेरी र इन्टरनेटको पहुँच सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ। त्यस्तै, प्राविधिक शिक्षामा अध्ययनरत विद्यार्थीलाई केवल प्रमाणपत्रमा सीमित नराखी व्यावसायिक सीप र रोजगारीको अवसर सुनिश्चित गर्ने व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

    संगठनले सहुलियतपूर्ण ऋणको पहुँच विस्तार गर्नुपर्ने र उत्पादनमुखी तालिमलाई प्राथमिकता दिनुपर्नेमा समेत जोड दिएको छ।

    पाठ्यपुस्तक र परीक्षा व्यवस्थापनमा सुधारको माग
    CTEVT अन्तर्गत सञ्चालनमा रहेका विभिन्न शैक्षिक कार्यक्रमहरूको पाठ्यपुस्तक समयमै उपलब्ध नहुनुका कारण विद्यार्थी प्रभावित भइरहेका भन्दै, पुस्तक वितरण प्रणालीमा तत्काल सुधार ल्याउन माग गरिएको छ।
    त्यस्तै, परीक्षा सञ्चालनमा भइरहेको ढिलासुस्ती विद्यार्थीका लागि मुख्य चुनौती भएको उल्लेख गर्दै निर्धारित समयमा परीक्षा सञ्चालन गरी चाँडो नतिजा सार्वजनिक गर्नुपर्ने आग्रह गरिएको छ।

    समावेशी पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चितता
    मागपत्रमा गरिब, दलित, सीमान्तकृत र पछाडि पारिएका वर्गका विद्यार्थीहरूलाई विशेष अवसर र सुविधा उपलब्ध गराउनुपर्ने माग गरिएको छ। शिक्षण संस्थाहरूमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न नियमित अनुगमन तथा निरीक्षणको व्यवस्था मिलाउनुपर्ने र सबै कार्यक्रमहरूमा पारदर्शिता अनिवार्य रूपमा अपनाउनुपर्ने संगठनको माग छ।

    प्राविधिक शिक्षा लिने धेरै विद्यार्थीहरू आर्थिक समस्याका कारण पढाइ छाड्न बाध्य हुने अवस्था रहेको भन्दै, ‘पढाइसँगै कमाइ’ कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने माग गरिएको छ।विज्ञप्तिमा संगठनले शिक्षा प्रणालीलाई समाजको आवश्यकता र प्रविधियुक्त युगसँग मेल खाने ढंगले पुनर्संरचना गर्नुपर्ने बताएको छ। शिक्षा केवल औपचारिक प्रक्रिया नभई जीवन निर्माण गर्ने औजार भएकोले यसलाई व्यावसायिक र प्रयोगात्मक बनाउनु समयको माग रहेको स्पष्ट गरिएको छ।

    संगठनका विश्वविद्यालय प्रदेश समिति इन्चार्ज जटिल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा, पेश गरिएका मागहरू समयमै सम्बोधन नभए कठोर आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ।

    ज्ञापनपत्र बुझाउने कार्यक्रममा संगठनका उपाध्यक्ष सन्दिप पुन, उमेश कंडेल, महासचिव रोशन थापा मगर, उपमहासचिव निर्मला गौतम, सचिव युन्छोहाङ माबो लिम्बु लगायतका नेताहरूको उपस्थिति थियो।



    nayapana nayapana    
  • ९ भाद्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP