काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को साउन ७ गते बसेको बैठकले रुकुम (पूर्व) जिल्लाको स्थायी सदरमुकाम रुकुमकोटलाई कायम गर्ने निर्णय नेपाल राजपत्रमा प्रकाशन गरेको छ।
उक्त निर्णयलाई नेपाल सरकारले साउन १२ गते प्रकाशित नेपाल राजपत्र (खण्ड ७५, भाग ५, संख्या २२) मा सार्वजनिक गरेको छ।
नेपाल सरकार गृह मन्त्रालयद्वारा जारी सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ३ को उपदफा (२) बमोजिम लुम्बिनी प्रदेशअन्तर्गत पर्ने रुकुम (पूर्वी भाग) जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका–५ र ६ मा अवस्थित रुकुमकोट तोकिएको उल्लेख गरिएको छ।
सन् २०१५ मा मुलुक संघीय प्रणालीमा गएको आठ वर्षपछि मात्रै रुकुम (पूर्व) ले आफ्नो स्थायी सदरमुकाम पाएको हो। २०७३ सालमा रुकुम जिल्ला दुई भागमा विभाजित भएपछि रुकुम (पूर्व) ले अहिलेसम्म स्थायी सदरमुकाम तोक्न सकेको थिएन। हालसम्म अस्थायी रूपमा विभिन्न स्थानबाट प्रशासनिक सेवा सञ्चालन हुँदै आएको थियो।
स्थायी सदरमुकामको टुंगो लागेसँगै जिल्लाको प्रशासनिक सेवा स्थायित्व र प्रभावकारिताको दिशामा अघि बढ्ने अपेक्षा गरिएको छ। स्थानीय नागरिक तथा जनप्रतिनिधिहरूले लामो समयदेखिको माग पुरा भएको भन्दै सरकारको निर्णयलाई स्वागत गरेका छन्।

प्रतिक्रिया