प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष तथा प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली–२ बाट स्वतन्त्र उम्मेदवार महेश्वर दाहालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को वर्तमान राजनीतिक भूमिकाप्रति गम्भीर प्रश्न उठाएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जनयुद्धकालीन आदर्श र आजको राजनीतिक व्यवहारबीच गहिरो विरोधाभास देखिएको टिप्पणी गरेका हुन्। दाहालले आफ्नो अभिव्यक्तिमा जनयुद्धकालीन संघर्ष स्मरण गर्दै प्रचण्डले स्वाभिमानको झण्डा उठाउँदा आफू, आफ्ना बाआमा र सिंगो परिवार त्यसै संघर्षमा होमिएको बताएका छन्।
“मुक्ति कि मृत्यु”को कसम खाएर अगाडि बढेको उक्त यात्रामा संयोगले बाँच्न सफल भए पनि आज आफूहरू ‘नाफाको जीवन’ बाँचिरहेको उनको भनाइ छ। उनले पूर्वी रुकुमका प्रतिनिधिसभा उम्मेदवार सन्दीप पुनका बाआमाको बलिदानको पनि स्मरण गरेका छन्।
दाहालका अनुसार सन्दीप पुनका बाआमाले काखे बालक छाडेर संघर्षको बाटो रोजे र अन्ततः सहादत प्राप्त गरे। तर, आज स्वाभिमानको लडाइँलाई निरन्तरता दिइरहेको दाबी गरिँदै गर्दा प्रचण्ड स्वयं सन्दीप पुनकै विरुद्ध पूर्वी रुकुमबाट उम्मेदवार बनेकोमा उनले आपत्ति जनाएका छन्। दाहालले जिल्ला पार्टीले आफ्नो उम्मेदवारी सिफारिस गरिरहेकै अवस्थामा नेतृत्वबाट ‘खल्तीबाट झिकेर’ आफ्नो उम्मेदवारीविरुद्ध निर्णय लादिएको आरोपसमेत लगाएका छन्।
अन्त्यमा दाहालले प्रचण्डमाथि तीखो टिप्पणी गर्दै भनेका छन्, “आज प्रचण्ड आफ्नै हिजोको स्वाभिमान र सपनाको मलामी बनेर हिँडिरहेका छन्।” दाहालको यो अभिव्यक्तिले जनयुद्धकालीन मूल्य, बलिदानको सम्मान र वर्तमान दलगत राजनीतिबीचको दूरीबारे बहसलाई फेरि एकपटक सतहमा ल्याएको छ।
प्रतिक्रिया