logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    अँध्याराका पक्षपातीले विद्युत् महसुल बक्यौतामा विवाद निकालेः प्रचण्ड

    • nayapana nayapana
    • ८ भाद्र २०८१ शनिबार
    अँध्याराका पक्षपातीले विद्युत् महसुल बक्यौतामा विवाद निकालेः प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई कसैले फुटाउन नसक्ने बताएका छन् ।

    शनिबार काठमाडौंमा माओवादी केन्द्र नुवाकोट सम्पर्क समितिको भेलामा उनले प्रतिक्रियावादीले पटक–पटक पार्टी फुटाउने षड्यन्त्र गरेको उल्लेख गरे । तर, कसैले फुटाउन नसक्ने उनको भनाइ थियो ।

    फुटेर गएका माओवादी पनि केही समयपछि एकताबद्ध हुने भन्दै उनले यसका निम्ति वार्ता भइरहेको बताए ।

    अध्यक्ष प्रचण्डले पार्टीलाई बलियो बनाउँदै अघि बढाउन सके आउँदो निर्वाचनमा ०६४ सालको हैसियतमा पुग्न सकिने धारणा राखे ।

    भ्रष्टाचारविरुद्ध अभियान थालेकाले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको उनले जिकिर गरे । हाल भ्रष्टाचारीको सरकार भएको उनले आरोप लगाए ।

    “…देख्दाखेरि त नेपाल कांग्रेस र एमाले नेताहरूले मिटिङ गरेर माओवादी नेतृत्वको सरकार हटाए भन्ने देखिन्छ रूपमा, तर त्यो मात्रै हो । सारचाहिँ यो देशका दलाल पुँजीपतिहरू, बिचौलियाहरू, कमिसनखोरहरू, जालीफटाहाहरूले तिनीहरू (कांग्रेस–एमाले)लाई आफ्नो प्रतिनिधिका रूपमा शृंगारपटार गर्न यो सरकार बनाइएको हो,” उनले भने, “त्यसकारण यो भ्रष्टाचारीहरूकै सरकार हो । यो भ्रष्टाचारीहरूको रक्षाको निम्ति बनाइएकै सरकार हो ।”

    उनले अँध्यारोमा रमाउनेलाई उज्यालो मन नपरेको टिप्पणी गरे । अँध्याराका पक्षपातीले विद्युत्को महसुल बक्यौतामा विवाद निकालेको उनको भनाइ थियो ।

    संविधान संशोधनका नाममा मुलुकलाई पछाडि फर्काउने षड्यन्त्र माओवादी रहँदासम्म सफल हुन नदिने उनले स्पष्ट पारे ।

    उनले आत्मसमीक्षाका साथ जनताका घरघरमा जान र माओवादीले गरेका कामका बारेमा जानकारी गराउन नेता–कार्यकतालाई निर्देशन समेत दिए ।



    nayapana nayapana    
  • ८ भाद्र २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP