logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    चुनवाङ भेरीडाँडाबाट पूर्व ब्रिगेड कमाण्डर ‘विकल्प’को आत्ममन्थन: माओवादी आन्दोलनको दिशामाथि गहिरो प्रश्न

    • nayapana nayapana
    • २० माघ २०८२ सोमबार
    चुनवाङ भेरीडाँडाबाट पूर्व ब्रिगेड कमाण्डर ‘विकल्प’को आत्ममन्थन: माओवादी आन्दोलनको दिशामाथि गहिरो प्रश्न

    प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य तथा जनमुक्ति सेना नेपालका पूर्व ब्रिगेड कमाण्डर विजय केसी ‘विकल्प’ ले ऐतिहासिक चुनवाङ भेरीडाँडामा उभिएर माओवादी आन्दोलनको वैचारिक यात्रा, बलिदान र वर्तमान दिशामाथि गहिरो प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको लामो भावनात्मक आलेखले दश वर्षे जनयुद्धको स्मृति मात्र होइन, आन्दोलनको वर्तमान अवस्थाप्रति आत्ममन्थन पनि उजागर गरेको छ।
    २०६२ सालमा तत्कालीन नेकपा (माओवादी) को बहुचर्चित चुनवाङ बैठक बसेको त्यही गाउँ र त्यही हलमा पुनः पुगेपछि आफूभित्र उत्पन्न अनुभूति केसीले शब्दमा उतारेका छन्। उनले भेरीडाँडालाई साधारण स्थल नभई “क्रान्तिको दिमाग र मुटु दुवै” भएको ऐतिहासिक केन्द्रका रूपमा वर्णन गरेका छन्।
    केसीका अनुसार, यही स्थानमा ‘एक्काइसौँ शताब्दीमा जनवादको विकास’ जस्तो मार्गदर्शक राजनीतिक दस्तावेज जन्मिएको थियो र यहीँबाट जनयुद्धका निर्णायक फौजी तथा राजनीतिक कार्ययोजनाहरू तय गरिएका थिए। दुई दशकपछि पनि तत्कालीन सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ बसेको घर, कोठा र काठको खाट उस्तै अवस्थामा देख्दा दश वर्षे जनयुद्धका दृश्यहरू मानसपटलमा आँधीझैँ उर्लिएको उनको भनाइ छ।
    उनले जनमुक्ति सेनाका हजारौँ योद्धा, जनवादी कलाकार, वर्गीय निष्ठाका साथ लगानी गरेका क्रान्तिकारी जनता र उनीहरूको सामूहिक भावना आज कहाँ हरायो भन्ने प्रश्न गरेका छन्। “आम शोषित–उत्पीडित र श्रमजीवी वर्गको अग्रदस्ता खै?” भन्ने उनको प्रश्नले आन्दोलनको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता झल्काउँछ।
    आलेखमा केसीले शहीद मस्त विष्ट, शहीद कुलमान, सुन्दर–वृक्षा जस्ता बलिदानी व्यक्तित्वहरू र उनीहरूले बोकेको अधुरो सपनाको स्मरण गरेका छन्। उनले शहीद सन्ततिको सन्दर्भ उठाउँदै चुनवाङमै हुर्किएका सन्दीप पुन आज योग्य र क्षमतावान बनेको उल्लेख गरेका छन्। शहीदको सम्मान गर्ने नेताले शहीद सन्ततासँग भिड्नु कत्तिको उचित हुन्छ भन्ने प्रश्नसमेत उनले उठाएका छन्।
    पूर्व कमाण्डर केसीले माओवादी आन्दोलनको मार्गदर्शक सिद्धान्त ‘माओवाद’ र पार्टीको वैचारिक दिशामाथि सीधा प्रश्न गर्दै लेखेका छन्, “चुनवाङ आज पनि उस्तै छ, तर त्यहाँ जन्मिएको मार्ग हामीले बीच बाटोमै छोड्यौँ कि?”
    उनका अनुसार इतिहासले नेतृत्वलाई जितका लागि मात्र होइन, दिशाका लागि पनि जवाफदेही ठहर गर्छ। उनले व्यक्तिगत स्वार्थ, आफन्तवाद र दरिद्र मानसिकताका प्रवृत्तिहरू खारेज गर्नुपर्नेमा जोड दिँदै देश र जनतालाई साँचो समाजवादको ठूलो मुटु आवश्यक रहेको बताएका छन्।
    आलेखको अन्त्यमा केसीले आवश्यक परे जीवन नै बलिदान गर्न सक्ने वैचारिक स्पष्टता र साहसी नेतृत्वको खाँचो औँल्याउँदै, “त्यो मार्ग फेरि देखाइदिनुहोस्, नत्र इतिहासले हामीलाई क्षमादान गर्ने छैन,” भन्ने सन्देश दिएका छन्।
    विजय केसी ‘विकल्प’को यो अभिव्यक्तिलाई माओवादी आन्दोलनको विगत, वर्तमान र भविष्यप्रति गरिएको गम्भीर आत्मसमीक्षा, वैचारिक चेतावनी र बहसको दस्तावेजका रूपमा हेरिएको छ।



    nayapana nayapana    
  • २० माघ २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP