logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    अखिल (क्रान्तिकारी) भित्र असन्तोष चुलियो, २४ पदाधिकारीले मागे बैठक

    • nayapana nayapana
    • १६ श्रावण २०८२ बिहीबार
    अखिल (क्रान्तिकारी) भित्र असन्तोष चुलियो, २४ पदाधिकारीले मागे बैठक

    नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) भित्र आन्तरिक असन्तोष चुलिँदै गएको छ।

    संगठनका ३३ जना केन्द्रीय पदाधिकारीमध्ये २४ जनाले संयुक्त हस्ताक्षरसहित केन्द्रीय पदाधिकारी बैठक आह्वानको माग गर्दै नेतृत्वसमक्ष लिखित आग्रह गरेका छन्।

    संगठनको २३औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक गत २०८१ माघ २६ गते काठमाडौंमा सम्पन्न भएको थियो। सो बैठकमा संगठनको कार्यदिशा, अभियान, प्रदेश संरचनाको समायोजन, तथा नीति निर्माणसम्बन्धी थुप्रै महत्वपूर्ण निर्णयहरू गरिए पनि ती निर्णयहरूको कार्यान्वयन प्रक्रिया ठप्प भएको भन्दै पदाधिकारीहरूले गम्भीर असन्तुष्टि जनाएका छन्।

    हस्ताक्षरित मागपत्रमा संगठन भित्रको आन्तरिक समन्वय अभाव, निर्णय कार्यान्वयनमा निष्क्रियता, तथा बढ्दो जटिलता प्रति चिन्ता व्यक्त गरिएको छ। साथै, स्ववियु निर्वाचनको समिक्षा, विद्यालय शिक्षा ऐनसम्बन्धी छलफल, बाँकी रहेका प्रदेश सम्मेलनहरू, तीन महिने अभियानको मूल्यांकन, सुदूरपश्चिम विश्वविद्यालयमा उपमहासचिवमाथिको भौतिक आक्रमण, तथा त्रिभुवन विश्वविद्यालयमा जारी आन्दोलन जस्ता विषयहरूमा तत्कालीन र गम्भीर बहसको आवश्यकता रहेको औंल्याइएको छ।

    पदाधिकारीहरूको भनाइमा अनुसार, बैठकको माग विगतदेखि नै बारम्बार मौखिक रूपमा गरिए पनि नेतृत्वले निरन्तर बेवास्ता गर्दै आएको छ। त्यसैले संगठनको विधानको भाग ६, धारा ३० को उपधारा ५ को आधारमा अबको एक साताभित्र केन्द्रीय पदाधिकारी बैठक बोलाउन लिखित रूपमा औपचारिक आग्रह गरिएको हो।

    संगठनको केन्द्रमा उठेको यो असन्तुष्टि केवल कार्यगत नभई नेतृत्वको निर्णयशक्ति र समावेशी प्रक्रियामाथिको प्रश्नसमेत बन्न पुगेको छ। संगठनभित्र बढ्दो असमझदारी र असन्तुलनले विद्यार्थी आन्दोलनमै संकट निम्त्याउने खतरा देखिएको एक उपाध्यक्षले बताए।

    अब नेतृत्वले उक्त मागलाई कति गम्भीरताका साथ लिन्छ र के प्रकारको संवाद र निर्णय प्रक्रिया अघि बढाउँछ भन्ने कुराले संगठनको आगामी मार्गचित्रलाई स्पष्ट पार्नेछ।

     



    nayapana nayapana    
  • १६ श्रावण २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP