कहिल्यै नछुटिने साथीझैं घर–घरमा रहेका घोडा–खच्चड एक दशकअघि ढोरपाटनमा दैनिक जीवनका अभिन्न हिस्सा थिए। तर, सडक विस्तारसँगै यातायातमा सहजता आएपछि यी जनावर बेकामे बने। किसानहरूले त पाल्नै छोडे; कोही बेच्न खोजे तर खरिद गर्ने कोही रहेनन्।
तर पछिल्ला वर्षहरूमा ढोरपाटनमा पर्यटक आगमनमा भएको उल्लेखनीय वृद्धिले घोडा व्यवसायमा पुनः उत्साह भरेको छ। बेकामे बनिसकेका घोडा–खच्चड अहिले पर्यटक बोक्ने, फोटो–भिडियोका लागि सवारी गराउने माध्यम बनेका छन्।
ढोरपाटन नगरपालिका–९ का खिमबहादुर विकका अनुसार, पर्यटकहरूको चाप बढेपछि अहिले घोडा पाल्ने र व्यवसायिक रूपमा प्रयोग गर्ने क्रम तीव्र भएको छ। उनका अनुसार, उपत्यकाबाट बुकीपाटनसम्मको यात्राका लागि रु ४,००० देखि ५,००० सम्म शुल्क लिने गरिएको छ।
त्यस्तै, घोडा चढेर चौरमा फोटो वा भिडियो खिच्न रु ५० देखि रु १५० सम्म लिने गरिएको छ। “केही वर्ष अगाडि घोडा–खच्चड पालेर जीविकोपार्जन गर्ने धेरै थिए। तर, सडक आएपछि आवश्यक छैन भन्ने लागेर हामीले पाल्न छाड्यौं। अहिले भने दुई–चार जना पर्यटक बोके पनि राम्रो कमाइ हुने भएकाले पुनः चासो बढेको छ,” विकले बताए।
कहिल्यै चिप्लो हिउँ वा काँडा भएका पहाड चिरेर आलु, स्याउ, सिमी बजार पुर्याउने घोडाहरूले अहिले पर्यटकलाई बुकीपाटन, निसेलढोर, जलजला लगायतका रमणीय स्थलसम्म पुर्याउने काम गरिरहेका छन्।
व्यवसायी धनराम विकका अनुसार, गाडी पुग्न सक्ने ठाउँसम्म यथासम्भव गाडी प्रयोग भए पनि त्यसपछिको यात्रा अझै पनि घोडामार्फत गर्नुपर्ने बाध्यता छ। “पहिला एक जनाले दुई दर्जनसम्म घोडा पाल्थे, अहिले आवश्यकता अनुसार केही घोडा मात्रै पाल्ने गरिन्छ,” उनले बताए।
पर्यटनसँगै घोडा व्यवसायले गति लिए पनि शुल्क लिने क्रममा देखिएको अव्यवस्थाले असन्तोष पनि बढाएको छ।
ढोरपाटन घुम्न आएका पर्यटक कुलदीप तामाङका अनुसार, फोटो खिच्न सुरुमा रु १०० भनिए पनि अन्त्यमा रु ३०० लिन खोजिएको थियो। “भ्रमण रमाइलो थियो तर शुल्कको दोधारमा पर्नुपर्यो,” उनले भने। तामाङले स्थानीय प्रशासनले अनुगमन गरी अनुशासन कायम गर्नुपर्ने माग राखे।
ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा १५,५७३ पर्यटक पुगेका थिए भने २०८१/८२ मा यो संख्या करिब ८,००० ले बढेर २३,६९२ पुगेको छ।
बर्खामा वनफूल अवलोकन र हिउँदमा हिउँ खेल्न आउने पर्यटकहरूको संख्या बढ्दै गएको बताइएको छ।
सडक विस्तारपछि अस्तित्व संकटमा पुगेको घोडा व्यवसायले पर्यटनसँगै नयाँ सम्भावना देखेको छ। अहिले ढोरपाटनमा घोडा–खच्चड फेरि आम्दानीको स्रोतमा रूपान्तरण भइरहेका छन्।
तर, यो व्यवसायलाई दीगो र व्यवस्थित बनाउने हो भने उपयुक्त नीतिगत हस्तक्षेप, मूल्य निर्धारणमा पारदर्शिता, र पर्यटकमैत्री सेवा प्रणाली आवश्यक देखिन्छ।
प्रतिक्रिया