काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) काठमाडौँ महानगर समितिले बागबजारस्थित के.एम.सी. कलेजमा विद्यार्थीहरूमाथि भएको शारीरिक तथा मानसिक यातना, यौन शोषण र धम्कीपूर्ण व्यवहारप्रति कडा आपत्ति जनाउँदै २४ घन्टे अल्टिमेटम जारी गरेको छ।
संगठनले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा शिक्षा क्षेत्रलाई पवित्र र शान्ति क्षेत्र मानिँदै आएको अवस्थामा शैक्षिक माफियाहरूले राज्य शक्तिको दुरुपयोग गर्दै शिक्षा क्षेत्रलाई बदनाम बनाएको आरोप लगाइएको छ। विज्ञप्तिमा केएमसी कलेज प्रशासनबाट पटक–पटक अनैतिक गतिविधिहरू भएको उल्लेख गर्दै भनिएको छ, “शारीरिक तथा मानसिक यातना, यौन शोषण र धम्की दिने कार्यले क्याम्पस प्रशासनले विद्यार्थीहरूको संवेदनशीलतालाई खेलौना बनाएको स्पष्ट देखिन्छ।”
संगठनका अनुसार कलेज प्रशासनले विगतदेखि नै यस्ता क्रियाकलाप गर्दै आएको छ भने विद्यार्थी र सामाजिक सञ्जालमार्फत यस्ता घटनाबारे निरन्तर गुनासो आइरहेको उल्लेख गरिएको छ। यस विषयमा अनेरास्ववियू (क्रान्तिकारी) काठमाडौँ महानगर समितिले चेतावनी दिँदै आएको पनि स्मरण गराइएको छ।
विज्ञप्तिमा दोषीलाई तत्काल कारबाही गर्न र सार्वजनिक रूपमा आत्मालोचना गर्दै पीडितहरूसँग माफी माग्न कलेज प्रशासनलाई २४ घन्टे अल्टिमेटम दिइएको छ। संगठनले भनेको छ, “यदि दोषीलाई तत्काल कारबाही भएन भने हामी चरणबद्ध संघर्षमा उत्रनेछौं, र त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी कलेज प्रशासन र सम्बन्धित निकायको हुनेछ।”
संगठनले शिक्षा क्षेत्रभित्र व्यापारीकरण, माफियाकरण, दलालीकरण र भ्रष्टाचारको अन्त्य गर्दै जनमुखी तथा जनवादी शिक्षाको स्थापना आवश्यक रहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया