logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    • nayapana nayapana
    • १२ जेष्ठ २०८३ मंगलवार
    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    वरपर भिरालो पाखा र बाक्लो जङ्गल। उत्तर र पूर्वतर्फ नियाल्दा चाँदी झैं टल्किने अग्ला हिमाल। बीच भागमा अवस्थित शान्त र एकान्त समथर चौर। चराचुरुङ्गीको मधुर चिरबिर आवाज र चरिरहेका पशुचौपाया। म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने ‘दोभान’ क्षेत्रको यो प्राकृतिक दृश्यले अचेल जोकोहीलाई पनि मन्त्रमुग्ध पार्ने गरेको छ।

    कुनै समय स्थानीयवासीका लागि केवल बस्तुभाउ राख्ने ‘घुम्ती गोठ’ (खर्क) मा सीमित यो ठाउँ पछिल्लो समय धौलागिरि चक्रीय पदमार्गको एक प्रमुख र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा उदाउन थालेको छ।

    समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको दोभानको स्वरूप सडक सञ्जाल र पर्यटन पूर्वाधारका कारण बदलिएको स्थानीय बासिन्दा लक्ष्मण घर्ती बताउँछन्। “धौलागिरि चौथोको फेदबाट बगेर आउने कुनावाङ नदी र धौलागिरि पहिलोबाट आउने म्याग्दी नदीको संगम भएकाले यसको नाम दोभान रहन गएको हो,” घर्तीले विगत सम्झँदै भने, “केही वर्षअघिसम्म यो ठाउँ गोठालाहरूको अस्थायी आश्रयस्थल मात्र थियो। तर, धौलागिरि हिमाल आरोहण र चक्रीय पदमार्ग हुँदै मुस्ताङ जाने पर्यटकहरूले यहाँ एकरात बिताउन थालेपछि यसले पर्यटकीय स्थलको रूप लिएको छ।”

    जैविक विविधता र रहस्यमय कुनावाङ ताल
    दोभान केवल विश्रामस्थल मात्र होइन, बरु जैविक विविधता र प्राकृतिक रहस्यले भरिएको केन्द्र पनि हो। यहाँबाट एक दिनको पैदल यात्रा गरेपछि धौलागिरि हिमालको प्रख्यात ‘इटाली आधार शिविर’ र धौलागिरि चौथोको फेदमा रहेको पर्यटकीय ‘कुनावाङ ताल’ पुग्न सकिन्छ।

    स्थानीय सोम पुनका अनुसार गोलो आकारको कुनावाङ तालको आफ्नै विशेषता छ। तालमा रूखका पातपतिङ्गर खसेमा चराहरूले ठुङ्गेर सफा गर्ने अनौठो दृश्य यहाँ देख्न पाइन्छ। “यो क्षेत्र प्राकृतिक रूपमा मात्र होइन, अध्ययनका लागि पनि महत्त्वपूर्ण छ। कुनावाङ क्षेत्रमा जापानी अनुसन्धानकर्ताहरूले हिममानव (यति) को बासस्थानबारे समेत अध्ययन गरिरहेका छन्,” पुनले थपे। यसबाहेक दोभान आसपासका पहाडहरूमा वन्यजन्तु अवलोकनको उत्तिकै सम्भावना छ। यहाँ आउने पर्यटकले मृग, झारल र घोरलजस्ता दुर्लभ वन्यजन्तुलाई प्रत्यक्ष नियाल्न पाउँछन्।

    वसन्त ऋतुमा लालीगुराँसले रंगिने यो क्षेत्र बर्खायाममा बुकी फूलहरू फुलेर गलैँचा ओछ्याए झैं देखिन्छ। कोलाहलबाट टाढा प्रकृतिमा रमाउन चाहनेहरूका लागि दोभान उत्कृष्ट गन्तव्य भएको आन्तरिक पर्यटक चिरञ्जिवी पौडेलको अनुभव छ।

    सडक सञ्जालले थप्यो सहजता, आन्तरिक पर्यटकको रोजाइमा
    भौगोलिक विकटताका कारण विगतमा दोभान पुग्न निकै सास्ती खेप्नुपर्थ्यो। यसअघि धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानव बस्ती ‘बगर’ देखि दोभान पुग्न पूरै एक दिन भीर, जङ्गल र खोल्साको जोखिमपूर्ण बाटो हिँड्नुपर्ने बाध्यता थियो।

    तर, म्याग्दीखोला जलविद्युत् आयोजनाले बाँध निर्माणस्थल (दोभान) सम्म पहुँचमार्ग निर्माण गरेपछि स्थिति फेरिएको छ। बगरदेखि दोभानसम्मको ९ किलोमिटर सडक मार्ग खुलेपछि अहिले सदरमुकाम बेनीबाट जिप वा मोटरसाइकल चढेर मात्र ५ घण्टामा दोभान पुग्न सकिन्छ। सडकको पहुँच पुगेसँगै खाद्यान्न ढुवानी र आवतजावत निकै सहज बनेको छ।

    पछिल्लो समय विदेशी पर्यटकहरूले मार्फा हुँदै आधार शिविर जाने पदमार्ग वा सिधै हेलिकोप्टरको प्रयोग गर्न थालेपछि दोभानमा विदेशीको चहलपहल केही घटेको थियो। तर, यातायातको सुविधा विस्तार भएपछि अचेल यो अभाव आन्तरिक पर्यटकहरूले पूर्ति गर्न थालेका छन्।

    रैथाने स्वाद र गास-बासको व्यवस्था
    पर्यटकहरूको आगमन बढेसँगै दोभानमा पूर्वाधार पनि थपिँदै गएका छन्। हाल यहाँ पर्यटकको सुविधाका लागि दुईवटा सुविधायुक्त होटलहरू सञ्चालनमा छन्, जहाँ एकैपटक ५० जनासम्मले बास बस्न सक्छन्।

    यहाँ पुग्ने पर्यटकहरूले बजारको कृत्रिम खाना भन्दा पनि स्थानीय वनपाखामा पाइने रातो च्याउ र निगालोको टुसा (तामा) जस्ता स्थानीय एवं प्राङ्गारिक परिकारहरूको स्वाद लिन पाउँछन्। प्रकृतिको काखमा रैथाने स्वाद र न्यानो आतिथ्यता पाइन थालेपछि दोभान विस्तारै म्याग्दीको नयाँ पर्यटकीय हबका रूपमा स्थापित हुँदै गइरहेको छ।



    nayapana nayapana    
  • १२ जेष्ठ २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP