तराईमा अहिले उखरमाउलो गर्मी छ। वायुपंखाले पनि राहत नदिने चर्को तापक्रमले जनजीवन हलकान छ। तर, यही बेला मध्यपहाडी जिल्ला सिन्धुलीमा भने गर्मीयामको कुनै असर छैन। नीलो आकाशमुनि सेता बादलको घुम्टाले ढपक्कै ढाक्ने यो क्षेत्र शीतलता, हरियाली र प्राकृतिक सौन्दर्यले भरिएको छ। यहाँको हुस्सुले गर्मीलाई बिर्साइदिन्छ।
बीपी राजमार्ग हुँदै सिन्धुली प्रवेश गर्ने यात्रुलाई कमलामाई नगरपालिका–८, करकरेको रसिलो भुइँकटहरले स्वागत गर्छ। माढी बजारबाट १० किलोमिटर दक्षिणतर्फ पर्ने यो क्षेत्र भुइँकटहरको ‘पकेट क्षेत्र’को रूपमा चिनिन्छ। यहाँका स्वादिला कटहर मात्र होइन, प्राकृतिक शान्ति र ताजगीले पनि स्वर्गीय सन्तुष्टि दिन्छ।
राजमार्ग छेउमा स्थानीय व्यवसायीहरूले सजाएका भुइँकटहरको मीठो सुगन्धले हतारमा रहेका यात्रुहरूलाई समेत केहीबेर रोकिन बाध्य पार्छ। कतिपयले त कटहर कोसेलीको रूपमा लिएर फर्किन्छन्। माढी बजारबाट उत्तरतर्फ १६ किलोमिटर यात्रा गरेपछि पुगिने ऐतिहासिक सिन्धुलीगढीमा गर्मीयाममा पनि चिसो हावा चल्छ। चियाबारी पार गरेपछि देखिने हरियाली वन, सुन्दर पहाड र सडक छेउका स्थानीय उत्पादनले सबैलाई मोहित बनाउँछ।
सिन्धुलीगढी केवल प्राकृतिक सौन्दर्यले मात्रै भरिएको छैन, यसले नेपाल इतिहासको गौरव बोकेको छ। अंग्रेज फौजलाई पराजित गरेर गोर्खाली फौजले देखाएको वीरताको साक्षी हो यो भूमि। यहाँ सानो गढी, पौवागढी, तोप हान्ने प्वाल, ऐतिहासिक इनार, जेलघर, रानी दरबार, युद्ध संग्रहालय, र धार्मिक आस्थाको प्रतीक सिद्धबाबा मन्दिर रहेका छन्। यी सम्पदाले पर्यटकलाई इतिहास र धर्म दुवैको सन्देश दिन्छ।
भारतको बिहारबाट परिवारसहित आएका शीतल भगत भन्छन्, “हाम्रो बिहारमा अहिले गर्मीको अत्यधिक पीडा छ। यहाँ त बिहान–बेलुका चिसो महसुस हुन्छ। सुन्दर वातावरण र शीतलताले हामीलाई रोमाञ्चित बनायो।” उनीसहितको परिवारले सिन्धुलीका विभिन्न रमणीय स्थल घुमेर कटहर, फलफूल र स्थानीय अचारको स्वाद लिँदै यात्रा गरेका थिए।
जनकपुरधामका कैलाशकुमार राउतको अनुभव पनि उस्तै रह्यो। “यहाँको हरियाली र मौसम मनमोहक छ। तराईमा यस्तो वृक्ष छैन, न यस्तो चिसोपन। तराईमा पनि यस्तो वातावरण होस् भन्ने चाहना छ,” उनी भन्छन्।
गर्मीमा पर्यटकको आगमनसँगै सिन्धुलीका सडक छेउ व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएका छन्। गढीडाँडा, सोलाभञ्ज्याङ, खनियाखर्कमा यात्रुहरू स्थानीय अकबरे खुर्सानी, नून, लसुन, टिमुर मिसाएर बनाएको अचारसँग हरियो काँक्रोको चिरा चपाउँदै रमाउँछन्। कतिपय भुइँकटहर, नास्पाती, र अन्य मौसमी फलफूलको मिठासमा हराउँछन्। मोबाइल क्यामेरामा यहाँको सौन्दर्य कैद गर्न व्यस्त हुनेहरूको त कमी नै छैन।
सिन्धुलीमा नौवटै पालिकामा पर्यटकीय सम्भावना प्रशस्त छ। मरिण गाउँपालिका–५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक ‘पञ्चकन्या पोखरी’ क्षेत्र यसको राम्रो उदाहरण हो। निर्मल जल, कमलका फूल, चराचुरुङ्गीको मधुर स्वर र हरियाली वनजङ्गलले यो क्षेत्र अनुपम बनाएको छ।
यस्तै, सुनकोशी गाउँपालिका–५ को मुल्कोट क्षेत्र पछिल्लो समय पर्यटकीय हबका रूपमा विकसित हुँदैछ। यहाँ रिसोर्ट, होटल, रेष्टुरेन्ट र सुनकोशीमा ¥याफ्टिङ सुविधा उपलब्ध छन्।
फिक्कल चुचुरो सिन्धुलीकै सर्वोच्च शिखर हो। यहाँ सामुदायिक होमस्टेमा बसेर स्थानीय संस्कृति र अर्ग्यानिक परिकारको स्वाद लिन सकिन्छ। महादेवडाँडा, सुम्नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावतीबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ।
स्थानीय व्यवसायी गुञ्जन तामाङ भन्छन्, “गर्मीमा राजमार्ग हुँदै आउने पर्यटकले यहाँको व्यापार व्यवसायमा नयाँ ऊर्जा थपेका छन्।” सिन्धुली उद्योग वाणिज्य सङ्घकी महिला सचिव सिर्जना श्रेष्ठले पर्यटक संख्या बढेसँगै व्यापार फस्टाएको बताउँदै थप पूर्वाधार, सुविधा र प्रचारप्रसारमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँछिन्।
तर, यथार्थ के छ भने—कसैकसैले प्रयोग नगरेका पदमार्ग जङ्गलले ढाकिसकेका छन्। करोडौँ खर्च गरेर बनाइएका भ्यू टावरहरू जीर्ण छन्। पुनःनिर्माण गरिएको रानीदरबार समेत उचित व्यवस्थापनको अभावमा जीर्ण हुँदैछ।
सिन्धुलीमा पर्यटनको प्रचुर सम्भावना छ। तर, केवल संरचना निर्माण गरेर मात्र पर्याप्त हुँदैन। दीर्घकालीन संरक्षण, प्रभावकारी व्यवस्थापन, स्थानीय उत्पादनको प्रवर्द्धन, र सांस्कृतिक गतिविधिहरूसँग समन्वय आवश्यक छ। यस्ता प्रयासले पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ, जसले स्थानीय रोजगारी र आयआर्जनमा पनि उल्लेखनीय वृद्धि ल्याउनेछ।
सिन्धुली एक अनुपम गन्तव्य हो—जहाँ गर्मीयाममा शीतलता, जाडोयाममा न्यानोपन, इतिहास, प्रकृति र संस्कृति सँगै बाँचेका छन्। यहाँबाट जो–कोही फर्कंदा पनि इतिहास, सौन्दर्यता र स्मृतिको मिठो सँगालो लिएर फर्कन्छन्।
प्रतिक्रिया