logo
  • १४ श्रावण २०८३, बिहीबार | Thu, 30 Jul 2026
  • Dark Mode

          Subscribe

    गोठ, भेडा र बिर्सिएको मेहनत : बुकीपाटनमा न्यानोपन खोज्दै गोठाला

    • nayapana nayapana
    • १७ श्रावण २०८२ शुक्रबार
    गोठ, भेडा र बिर्सिएको मेहनत : बुकीपाटनमा न्यानोपन खोज्दै गोठाला

    बागलुङको उच्च लेकटीका टीकाधारामा पुराना थाङ्नाले बेरिएको एउटा गोठ — छानोमा निलो त्रिपाल, बाँसको चोया र वरिपरि सुरक्षाका लागि गजक्क परेका भोटे कुकुर। यही गोठ नजिकै हजारौँ संख्यामा भेडाका बथान छन्, र त्यही बथानसँगै भेटिन्छन्, टेकध्वज घतान — पसिनाले भिजेका लुगा, मैलिएको टोपी, चाउरिएको तर अझै उत्साही अनुहार।

    ६४ वर्षीय टेकध्वज बागलुङको निसीखोला गाउँपालिका–६ का बासिन्दा हुन्। अहिले टीकाधाराको ४२०० मिटर उचाइमा झण्डै २०० भेडाका बथान लिएर बसेका छन्। यो स्थान गर्मीयामको लागि उपयुक्त भए पनि अत्यधिक चिसो हुन्छ, जसका कारण बाक्ला न्यानो कपडाबिना एक दिन पनि गुजार्न सकिंदैन।

    टेकध्वज घतानले बाल्यकालदेखि नै भेडा पालनमा जीवन समर्पित गर्दै आउनुभएको छ। उहाँको दिनचर्या बिहान भेडा दुहेर सुरु हुन्छ भने दिउँसोभरि घाँस काट्नमै बित्छ। उहाँजस्तै अन्य गोठालाहरू पनि यही क्षेत्रमा गोठ बनाएर बस्दै आएका छन्। रोल्पाका तीर्थबहादुर घर्ती, रुकुमका सत्यराम विश्वकर्मा लगायत सात जना मिलेर एउटै गोठमा बस्ने र पालैपालो भेडा चराउने तथा घाँस काट्ने काम गर्छन्।

    बुकीपाटन क्षेत्रमा यतिबेला पाँच हजारभन्दा बढी भेडाका बथान फैलिएका छन्। हिउँदमा बेँसी ओरालो झर्ने र बर्खामा लेक चढ्ने यो परम्परागत चक्रलाई गोठालाहरूले पुस्तौँदेखि जोगाउँदै आएका छन्।

    पाँच दशकभन्दा बढी समय यही पेसामा बिताउँदासमेत टेकध्वजले अहिलेसम्म कुनै सरकारी सहयोग नपाएको गुनासो गर्नुहुन्छ। “सरकारले त किसानलाई अनुदान दिन्छ भन्छ, तर हामी गोठालाले केही पनि पाएका छैनौँ। जाडोमा लाउने न्यानो ज्याकेट, गोठ छाउने गतिलो त्रिपाल पनि पाउन सकिएको छैन,” उहाँ भन्छन्।

    रुकुमपूर्वका सत्यराम विश्वकर्मा पनि त्यही समस्या दोहोर्याउनुहुन्छ। “गोठ सार्नुपर्छ, ठाउँठाउँमा टिन र त्रिपाल चाहिन्छ। रातिमा उज्यालोका लागि सोलार भए हुन्थ्यो,” उहाँको भनाइ छ। उहाँसँग अहिले झण्डै तीन सय भेडा छन्। गाउँमा बसेर यति धेरै भेडा पाल्न नसकिने भएकाले विभिन्न लेक र खर्कमा सरेर बस्नुपर्ने बाध्यता छ।

    टीकाधारामा पछिल्लो समय आन्तरिक पर्यटकहरूको उल्लेख्य भीड बढेको छ। तर गोठालाहरूका लागि यो सधैं स्वागतयोग्य हुँदैन। पर्यटकहरूले भेडाका बथानमा अनावश्यक चहलपहल गर्दा समस्या हुने गरेको छ। गोठाला लेकबहादुर विक भन्छन्, “पर्यटक बथानमा छिरेर नाच्न, चिच्याउन थाल्छन्। त्यसले भेडा तर्सिन्छ, टाढाटाढा भाग्छ। पछि भेला पार्न धेरै समय र श्रम खर्च हुन्छ।”

    टीकाधाराको बुकीपाटन क्षेत्र अहिले बागलुङ, रोल्पा, रुकुम, म्याग्दी र डोल्पाबाट आएका गोठालाहरूले भरिएको छ। गोठहरू त भौगोलिक रूपमा टाढाटाढा छन्, तर त्यहाँका गोठालाहरूको आवाज भने एउटै छ — राज्यले सहयोग गरे हुन्थ्यो।

    प्राकृतिक सौन्दर्यले भरिएको बुकीपाटनका हरिया खर्क र बथानका बीच गोठालाहरूको कठोर श्रम र उनीहरूको अपेक्षा लुकेको छ। पुस्तौँदेखि निरन्तर भेडा पालनमा संलग्न यी श्रमिकहरूको जीवन सजिलो छैन, तर उनीहरूले राज्यबाट आशा भने अझै छोडेका छैनन्।



    nayapana nayapana    
  • १७ श्रावण २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP