“एक्का चिडिको, के सुनाउँ बेदना रित्तो पिँढिको…”
पर्वते कलाकार सुवास शर्माको लोकप्रिय गीत ‘रित्तो पिँढीको’ सधैँजसो भव्य गाउँहरूको सुनसान वर्तमान चित्रणजस्तै बनेको छ। यस्तै छ बागलुङको जैमिनी नगरपालिका — विशेषगरी यसको वडा नं. १ स्थित भण्डारा गाउँ, जहाँ घरहरूमा ताल्चा झुन्डिएका छन्, आँगनमा झार उम्रिएका छन्, र सिंगो गाउँ मानवरहित बन्दै गइरहेको छ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार बागलुङ जिल्लाको जनसंख्या घट्दो अवस्थामा छ। सबैभन्दा चाँडो जनसंख्या घट्ने नगरपालिकामध्ये जैमिनी नगरपालिका देशभरमा दोस्रो स्थानमा परेको छ — अछामको साँफेबगरपछि।
जनसंख्याको गिरावटमा न्यून जन्मदरसँगै चरम बसाइसराइ मुख्य कारक देखिएको छ। कुनै समय विद्यार्थीले भरिएको सिद्धिगणेश प्राथमिक विद्यालय हाल विद्यार्थी शून्य भएर बन्द भएको छ। २०४६ सालमा गाउँले मिलेर स्थापना गरेको यो विद्यालय आज मौन छ — न त शिक्षक छन्, न विद्यार्थी।
७६ घरधुरी रहेको भण्डारा गाउँ आज केही घरमा सीमित मात्र मानिस बस्ने ठाउँमा रूपान्तरण भएको छ। अधिकांश घरहरूमा ताला लागेका छन्। कति घर हरियाली जंगलमा हराइसकेका छन्। गाउँका वृद्धवृद्धा चुनावमा मतदान गर्न केन्द्रसम्म पुग्न मान्छे नपाउने अवस्थामा पुगेका छन्।
स्थानीय ८५ वर्षीय दुर्गादत्त पाध्याले दुःख पोख्दै भने, “पहिले काम पर्दा गाउँले जुट्थे, अहिले बोल्ने मान्छेसमेत छैन।” उनका अनुसार गाउँ रित्तिँदै गएको छ, शहर पस्ने लहर थामिएको छैन।
गाउँ रित्तिने प्रमुख कारणमध्ये एक हो — बाँदर आतंक। उत्पादन भएको अन्नबाली बाँदरले नष्ट गरिदिन्छ। जंगलमा आगलागीको जोखिम पनि वर्षेनि बढ्दो छ। हिउँदको समयमा बस्तीमाथि फैलिने आगोले जनधनको क्षति गराउँछ। जंगल सफा गर्ने जनशक्ति घटेपछि अब आगो निभाउने सक्ने सामर्थ्य पनि गाउँलेसँग बाँकी छैन।
स्थानीय कृष्ण प्रसाद पौडेल भन्छन्, “बाँदर र आगलागीको डरले शहर सरेका हौँ। खेतबारी बाँझिँदै गएको छ, गाउँ जंगलमा परिणत हुँदैछ।”
गाउँका धेरै परिवारहरू अहिले काठमाडौं, पोखरा, बुटवल, चितवन र बागलुङ बजारतर्फ सरेका छन्। विदेशमा रहेका युवाहरूको परिवार शहरमै बसोबास र छोराछोरीको पढाइका लागि गाउँ छोड्छन्। उत्पादन नहुने, जोखिमपूर्ण वातावरणमा कोही बस्न चाहँदैन।
जैमिनी नगरपालिका वडा नं. १ का अध्यक्ष विष्णुप्रसाद आचार्यका अनुसार, पछिल्लो दुई वर्षमा १५७ जनाले स्थायी रूपमा बसाइ सरेका छन्। वडाले ‘शेरा जाउँ, केरा खाउँ’ कार्यक्रममार्फत केरा खेतीमा अनुदान, तरकारीको बीउ वितरणलगायतका योजना अघि सारे पनि बसाइसराइ रोक्न सफल हुन सकेको छैन।
“सडक निर्माणपछि झनै मानिस सर्न थालेका छन्,” अध्यक्ष आचार्य भन्छन्, “कृषिमा लगानी त गरेका छौँ, तर बाँदरको डरले उत्पादन लिन नसकिँदा मानिसको मन गाउँमा बस्दैन।”
गाउँमा न शिक्षा छ, न स्वास्थ्य, न रोजगार। पहिले सामूहिक जीवन जिउँदै आएका गाउँले अब एकान्त र मौनतामा बाँचेका छन्। बसाइसराइको सिलसिलाले गर्दा “जिउँदाको जन्ती र मरेको मलामी” पनि पाउन मुस्किल हुने अवस्था आएको छ।
भण्डारा गाउँको कथा जैमिनी मात्र होइन, देशका सयौँ गाउँहरूको प्रतिनिधि कथा हो — जहाँ बसाइसराइले पिँढी रित्ताउँदै, घर वनमा परिणत गर्दै गाउँको सासै थामिदिएको छ।
प्रतिक्रिया