नेपालका अधिकांश पर्यटकीय गन्तव्यमा मनसुन सुरु भएसँगै पर्यटकको चहलपहल घट्न थाल्छ। वर्षायामलाई पर्यटनको ‘अफसिजन’ मानिने परम्परागत बुझाइ अझै कायम छ। तर बागलुङको ढोरपाटन भने यही मौसममा नयाँ सौन्दर्यसहित पर्यटकलाई स्वागत गरिरहेको छ। हरियालीले ढाकिएका विशाल पाटन, कुहिरोले छोपिएका बुकी, रंगीचंगी भुइँफूल र हिमाली गोठसम्म पुग्ने पदमार्गले ढोरपाटनलाई मनसुनी पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न थालेको छ।
अहिले ढोरपाटनको चर्चा केवल मनसुनमा फक्रिने प्राकृतिक सौन्दर्यमा मात्र सीमित छैन। दशकौँदेखि वैधानिक सिकार पर्यटनका कारण विश्वभर परिचित बनेको यस हिमाली उपत्यकालाई अब प्रकृति, पदयात्रा, जैविक विविधता, संस्कृति र स्थानीय समुदायमा आधारित दिगो पर्यटनको नमुना गन्तव्यका रूपमा विकास गर्नुपर्ने बहस बलियो बन्दै गएको छ।
हालै सम्पन्न ‘ढोरपाटन समिट’मा नीति निर्माता, पर्यटन व्यवसायी, संरक्षणकर्मी, पत्रकार तथा स्थानीय समुदायका प्रतिनिधिहरूले ढोरपाटनको पर्यटनको भावी दिशाबारे व्यापक छलफल गरेका थिए। छलफलको निष्कर्ष स्पष्ट थियो—ढोरपाटनको भविष्य केवल सिकार पर्यटनमा सीमित रहनु हुँदैन, यसको विशाल प्राकृतिक र सांस्कृतिक सम्पदालाई केन्द्रमा राखेर दीर्घकालीन पर्यटन रणनीति निर्माण गरिनुपर्छ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले ढोरपाटनलाई नेपालको सबैभन्दा सम्भावनायुक्त तर अपेक्षाकृत उपेक्षित पर्यटन गन्तव्यको रूपमा चित्रण गरे। राज्यको पर्याप्त ध्यान नपुग्दा यहाँका अनुपम प्राकृतिक सम्पदा र पदयात्रा मार्गहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन हुन नसकेको उनको भनाइ छ।
उनका अनुसार अन्नपूर्ण चक्रीय पदमार्गलगायतका स्थापित गन्तव्यहरू सडक विस्तारका कारण प्रभावित भइरहेका बेला ढोरपाटन नयाँ वैकल्पिक पदयात्रा गन्तव्य बन्न सक्छ। धवलागिरि क्षेत्रको मुना, गुर्जा, जलजला हुँदै ढोरपाटन र डोल्पासम्म जोडिने व्यवस्थित पदमार्ग निर्माण गर्न सके विश्वभरका साहसिक पर्यटकलाई आकर्षित गर्न सकिने उनको विश्वास छ।
पर्यटन विश्लेषक तथा पत्रकार अमृत भादगाउँलेले ढोरपाटनको पर्यटन विकासलाई सिकार गतिविधिको घेराभन्दा बाहिर निकाल्नुपर्ने धारणा राखे। विश्वव्यापी रूपमा पशु कल्याण, वातावरण संरक्षण र जैविक विविधताप्रति बढ्दो संवेदनशीलतालाई ध्यानमा राख्दै ढोरपाटनले दीर्घकालीन पर्यटन रणनीतिमा परिवर्तन गर्नुपर्ने उनको तर्क छ।
उनका अनुसार भविष्यको पर्यटन वन्यजन्तुको सिकारमा होइन, तिनलाई प्राकृतिक वासस्थानमै अवलोकन गर्ने अनुभवमा आधारित हुनुपर्छ। प्रकृति पर्यटन, वन्यजन्तु अवलोकन, स्थानीय संस्कृति, समुदायमा आधारित अनुभव र लामो बसाइलाई प्रोत्साहन गर्ने कार्यक्रममार्फत ढोरपाटनले पर्यटनबाट अझ ठूलो आर्थिक लाभ लिन सक्ने सम्भावना छ।
एकल पदयात्री सिर्जना सिज्जुले ढोरपाटनको मौलिक भू–बनोट, विशाल खुला पाटन र अलौकिक प्राकृतिक दृश्यलाई यसको सबैभन्दा ठूलो सम्पत्ति भएको बताइन्। उनका अनुसार ढोरपाटनलाई योग, ध्यान, प्रकृतिमा आधारित विश्राम (नेचर रिट्रिट) तथा आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।
उनले प्रस्तावित उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाले ढोरपाटनको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनामाथि पार्न सक्ने प्रभावबारे गम्भीर अध्ययन हुनुपर्ने आवश्यकता औँल्याइन्। “प्रकृति बिग्रिएपछि त्यसलाई पुनः निर्माण गर्न सकिँदैन,” उनको भनाइ थियो, “ढोरपाटनको वास्तविक शक्ति यही प्राकृतिक सम्पदा हो।”
ढोरपाटन सिकार आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार सिकार पर्यटनले ढोरपाटनलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको छ। विदेशी सिकारीलाई आकर्षित गर्ने नेपालको एकमात्र वैधानिक सिकार क्षेत्र भएकाले यसले राज्यलाई उल्लेखनीय राजस्वसमेत उपलब्ध गराउँदै आएको छ।
तर पछिल्ला वर्षमा ढोरपाटनको पर्यटनको स्वरूप परिवर्तन हुँदै गएको देखिन्छ। विशेषगरी आन्तरिक पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ। गत वर्ष मात्रै करिब २५ हजार पर्यटकले ढोरपाटन भ्रमण गरेका थिए। पछिल्ला वर्षमा मनसुनी पदयात्राका लागि आउने विदेशी पदयात्रीको संख्या पनि क्रमशः बढ्दै गएको तथ्यांकले देखाउँछ।
पर्यटकको बढ्दो आगमनसँगै स्थानीय पर्यटन पूर्वाधार पनि विस्तार भइरहेको छ। हाल ढोरपाटन क्षेत्रमा ३९ वटा होटल तथा होमस्टे सञ्चालनमा छन्, जहाँ एकैपटक करिब एक हजार पाँच सय पर्यटकलाई आवास सुविधा उपलब्ध गराउन सकिन्छ। सडक पहुँचमा सुधार, पर्यटकमैत्री सेवा विस्तार तथा स्थानीय समुदायको सक्रिय सहभागिताले ढोरपाटनको पर्यटन उद्योगलाई नयाँ ऊर्जा प्रदान गरेको छ।
संरक्षण र पर्यटनलाई सँगसँगै अघि बढाउने अवधारणाले पनि ढोरपाटनको भविष्यलाई थप बलियो बनाएको छ। स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, रोजगारी सिर्जना हुने र प्राकृतिक सम्पदाको संरक्षण सुनिश्चित हुने मोडललाई यहाँको पर्यटन विकासको आधार बनाउनुपर्नेमा सरोकारवालाहरू एकमत देखिएका छन्।
कुनै समय सिकार पर्यटनकै कारण चिनिएको ढोरपाटन अहिले नयाँ परिचय निर्माणको चरणमा छ। विशाल हरिया पाटन, दुर्लभ जैविक विविधता, मौलिक संस्कृति, मनमोहक पदमार्ग र समुदायमा आधारित पर्यटनको सम्भावनाले यसलाई नेपालको दिगो पर्यटनको नमुना गन्तव्य बन्ने दिशातर्फ डोर्याइरहेको छ। मनसुनको हरियालीसँगै ढोरपाटनले अब नयाँ पर्यटन युगको संकेत दिन थालेको छ।
प्रतिक्रिया